
काभ्रेपलाञ्चोक- पनौती नगरपालिका–१० खोपासीमा नगर अस्पताल सञ्चालनमा ल्याइएको छ । अस्पतालले पहिलो चरणमा दुई मेडिकल अधिकृतसहित नौ जना जनशक्तिमार्फत बिहान ९ः०० बजेदेखि नियमित सेवा सुरु गरेको जनाइएको छ ।
भारतीय दूतावासको सहयोगमा निर्मित अस्पतालको सोमबार नगर प्रमुख रामशरण भण्डारी र नगर उपप्रमुख गीता बञ्जाराले संयुक्तरुपमा उद्घाटन गरे । अस्पताल भवन निर्माण सम्पन्न भएपनि केही समयदेखि विविध कारण सेवा सुरु नगरिएको अस्पतालमा सोमबारदेखि औपचारिक रुपमा सेवा सुरु गरिएको हो । अस्पतालमा गुणस्तरीय ल्याब सेवा, विशेषज्ञ सेवा, एक्स–रे मेसिनलगायतका सुविधासहित सेवा प्रारम्भ गरिएको अस्पताल व्यवस्थापन समितिका संयोजकसमेत रहेका भण्डारीले बताए । उनले नगरले आफ्ना नागरिकको स्वास्थ्य सेवालाई केन्द्रमा राखेर अस्पताल सञ्चालनमा ल्याएको बताए ।
अस्पताल सञ्चालनमा ल्याइएपछि पनौती नगर मात्र होइन आसपासका क्षेत्रका नागरिकले पनि यहाँबाट सहज सेवा पाउने भएका छन् । यहाँ उपलब्ध हुन नसकेको सेवा मात्रै अन्यत्र रिफर गरिने जनाइएको छ । अस्पतालमा फार्मेसी सेवासमेत सञ्चालनमा ल्याई सरकारले निःशुल्क उपलब्ध गराउने औषधि वितरण गरिने भण्डारीले जानकारी दिए । उनका अनुसार अस्पतालको सेवा क्रमशः विस्तार गर्दै थप विशेषज्ञ सेवा तथा आधुनिक उपकरण थप्दै लगिनेछ । हाल बागमती प्रदेश सरकारले उपलब्ध गराएको रु ४० लाख बजेटले आवश्यक सामग्री खरिद तथा व्यवस्थापन गरिएको छ ।
तत्कालीन अवस्थामा जाइकाले निर्माण गरी सञ्चालन गरेको खोपासी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै नगर अस्पतालका रुपमा विकास गर्ने योजनाअनुसार थप निर्माण गरी नगर अस्पताल सञ्चालनमा ल्याइएको हो । रु छ करोडको लागतमा अस्पताल निर्माण भएको जनाइएको छ । अस्पताल सञ्चालनमा आएपछि पनौती नगरका नागरिकलाई आधारभूत स्वास्थ्य सेवाका लागि टाढा धाउनुपर्ने बाध्यता केही हदसम्म अन्त्य हुने अपेक्षा गरिएको छ । पनौती नगरमा उक्त अस्पतालसहित १५ स्वास्थ्य संस्था सञ्चालनमा छन् ।


