
सिरहा- सिरहाको नरहा गाउँपालिका–४ वर्छवास्थित प्रसूतिगृह एक जना अनमीको भरमा सञ्चालन भइरहँदा सेवा जोखिमपूर्ण बनेको छ।
स्वास्थ्य मापदण्डअनुसार कम्तीमा दुई स्टाफ नर्स, एक स्वास्थ्य सहायक र एक कार्यालय सहयोगी आवश्यक पर्ने भए पनि उक्त प्रसूतिगृहमा हाल छैटौँ तहकी अनमी टीकादेवी ढुङ्गेल मात्र कार्यरत छन्। उनी नै चौबिसै घण्टा प्रसूति सेवा दिन बाध्य भएकी छन्।
स्थानीय स्वास्थ्यकर्मीका अनुसार प्रसूतिगृहमा आवश्यक भौतिक पूर्वाधार भए पनि दक्ष जनशक्ति अभावका कारण सेवा प्रभावकारी बन्न सकेको छैन। चालु आर्थिक वर्षको नौ महिनामा यहाँ १९ जना महिलाले सुत्केरी सेवा लिएको तथ्यांक छ।
वर्छवा स्वास्थ्यचौकीका प्रमुख महेशकुमार रजकका अनुसार विशेषगरी रातिको समयमा आपतकालीन प्रसूति अवस्था आउँदा एक जनाको भरमा सेवा दिन निकै कठिन हुने गरेको छ। “राति सुत्केरी केस व्यवस्थापन गर्नु चुनौतीपूर्ण हुन्छ,” उनले भने।
वर्षौँदेखि एक्लै सेवा दिँदै आएकी अनमी ढुङ्गेलले पनि रातिको ड्युटीका क्रममा डर र जोखिम दुवै हुने बताएकी छन्। जनशक्ति अभावले सेवा प्रवाहमा थप दबाब परेको उनको अनुभव छ।
यता स्थानीयवासीले गाउँपालिकाले आवश्यक स्थानमा स्वास्थ्यकर्मी खटाउन नसकेको भन्दै असन्तुष्टि जनाएका छन्। केही स्वास्थ्यकर्मीलाई प्रशासनिक काममा राखिँदा प्रसूति सेवामा जनशक्ति अभाव भएको उनीहरूको आरोप छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले भने जनशक्ति अभावकै कारण समस्या उत्पन्न भएको स्वीकार गर्दै छिट्टै आवश्यक कर्मचारी व्यवस्थापन गर्ने बताएका छन्।
स्थानीयले भने तत्काल थप स्वास्थ्यकर्मी खटाई प्रसूतिगृहलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन माग गरेका छन्।


