
कैलाली- कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणामा एक दम्पतीको जीवन रोग, गरिबी र भौगोलिक विकटताबीच संघर्षमा गुज्रिरहेको छ । स्थानीय कम्माने दमाईले बिरामी श्रीमतीलाई उपचारका लागि दैनिकजसो डोकोमा बोकेर साढे दुई घण्टाको उकालो–ओरालो यात्रा गर्न बाध्य छन् ।
उनकी श्रीमती जमुना दमाई मधुमेहका कारण गम्भीर बिरामी छिन् । खुट्टा सुन्निएर हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेपछि उनलाई पिठ्युँमा डोको र टाउकोमा नाम्लोको सहारामा बोकेर सडकसम्म पुर्याउनुपर्ने अवस्था बनेको हो । गाउँबाट सडक सञ्जाल नजोडिएकाले फल्लेबिसौनासम्म पुग्न मात्रै करिब साढे दुई घण्टा लाग्ने गर्छ, जहाँबाट मात्रै गाडी चढ्न सकिन्छ ।
दुई वर्षअघि मधुमेह देखिएकी जमुनाको स्वास्थ्य पछिल्लो समय झन् जटिल बन्दै गएको छ । खुट्टामा संक्रमण र घाउ बढेपछि हिँड्न नसक्ने भएपछि श्रीमान् कम्मानेले एक्लै बोकेर अस्पताल लैजाने गरेका छन् । “उपचार नगरी छोड्न सकिँदैन, त्यसैले डोकोमै बोकेर लैजान्छु,” उनले भने, “गाउँका युवाहरू विदेशमा छन्, सहयोग गर्ने मान्छे पनि छैनन्।”
मुलेकाँणामा करिब १५–१६ परिवार बसोबास गर्छन् । अधिकांश युवा रोजगारीका लागि भारत गएकाले गाउँमा बृद्ध, महिला र बालबालिका मात्र छन् । स्वास्थ्य चौकी टाढा हुनुका साथै स्ट्रेचर भए पनि बोक्ने जनशक्ति अभावले समस्या झन् जटिल बनेको छ ।
मधुमेहका कारण जमुनाको बायाँ खुट्टामा गम्भीर संक्रमण फैलिएको छ । यसअघि नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार गरिएको थियो भने भारतमा रहेका छोराले त्यहाँ लगेर अप्रेसनसमेत गराएका थिए । तर उपचारपछि पनि अवस्था सुधार नआएर झन् बिग्रिएको परिवारले जनाएको छ ।
आर्थिक अभावले उपचारमा निरन्तरता दिन समस्या भइरहेको छ । कम्माने दैनिक ज्यालादारी गरेर गुजारा चलाउने गर्छन्, तर उपचार खर्च धान्न कठिन भइरहेको छ । स्थानीयको सहयोगमा करिब ४० हजार रुपैयाँ संकलन भएपछि मात्रै पहिलोपटक उनलाई अस्पताल पुर्याउन सम्भव भएको थियो ।
परिवारमा दुई छोरा र दुई छोरी छन् । दुवै छोरा भारतमा मजदुरी गर्छन् भने आर्थिक संकटका कारण एक छोरी पनि कामको खोजीमा भारत गएको परिवारले जनाएको छ ।
कम्माने आफैँ पनि स्वास्थ्य समस्याबाट ग्रसित छन् । “के गर्ने, न मर्न सकिन्छ न बाँच्न सजिलो छ,” उनले पीडा व्यक्त गरे ।
चुनावका बेला नेताहरूले उपचारमा सहयोग गर्ने आश्वासन दिए पनि पछि कसैले वास्ता नगरेको उनको गुनासो छ । “भोट माग्न सबै आए, उपचार गरिदिन्छौं भने, तर चुनावपछि फर्केर हेर्ने कोही भएन,” उनले भने ।
विकट भौगोलिक अवस्था र आर्थिक संकटका बीच पनि कम्मानेको एउटै चाहना छ—श्रीमतीलाई जसरी पनि राम्रो उपचार गराएर निको बनाउने । आवश्यक परे भारत वा नेपालकै राम्रो अस्पतालमा लैजाने तयारीमा रहेको उनले बताए ।


