
कैलाली – कैलालीमा मरेको बोइलर कुखुराको मासु खाँदा दुई बालकको ज्यान गएको छ। चुरे गाउँपालिका–३, भक्तपुरका ५ वर्षीय दिपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू सहोदर दाजुभाइ हुन्।
जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार दुवै बालकको शुक्रबार सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। सोही मासु खाएकी उनीहरूकी आमा २८ वर्षीया राधिका ताम्राकार र ३ वर्षीय छोरा दिपेश ताम्राकारको अवस्था भने उपचाररत रहेको छ।
घटना बिहीबार भएको भए पनि प्रहरीलाई शुक्रबार मात्र जानकारी दिइएको थियो। त्यसपछि प्रहरीको समन्वयमा चारै जनालाई धनगढीस्थित अस्पतालमा उपचारका लागि ल्याइएको थियो।
प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले मरेको कुखुराको मासु स्थानीय विकास पोल्ट्री फार्मबाट खरिद गरेका थिए। फार्म सञ्चालक मंगल साउद आफैं इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भएका छन्। उनलाई आवश्यक पर्दा उपस्थित हुने शर्तमा आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।


