
काठमाडौं- नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ। संघको विधानअनुसार १९ सदस्यीय केन्द्रीय कार्यसमिति चयनका लागि देशभर चरणबद्ध मतदान तालिका सार्वजनिक गरिएको छ।
निर्वाचन समितिका अनुसार उपत्यकाबाहिर आज शुक्रबार र भोलि शनिबार मतदान हुनेछ भने काठमाडौं उपत्यकाभित्र वैशाख १७ र १८ गते मतदान हुने छ। मतदान बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।
यसपटकको निर्वाचनमा डा. बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण भुषाल नेतृत्वका तीन प्यानलबीच प्रतिस्पर्धा हुँदैछ। १९ सदस्यीय कार्यसमितिका लागि तीन समूहबाट कुल ५५ जना उम्मेदवार चुनावी मैदानमा छन्।
उपत्यकाबाहिर विराटनगर, धरान, राजविराज, लहान, जनकपुर र वीरगञ्जसहित चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत, दाङ, जुम्ला, पाल्पा, हेटौंडा, तनहुँ, रौतहट र काभ्रेमा आज र भोलि मतदान हुने व्यवस्था गरिएको छ। झापाको दमकमा वैशाख ४ गते तथा बिर्तामोड र डडेलधुरामा वैशाख ५ गते मात्रै मतदान हुने निर्वाचन समितिले जनाएको छ।
डा. बद्री रिजाल समूहबाट अध्यक्षमा स्वयं रिजाल उम्मेदवार छन् भने वरिष्ठ उपाध्यक्षमा डा. सन्जिब तिवारी, महासचिवमा डा. विश्वराज दवाडी, कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सहसचिवमा डा. हुलास अग्रवाल र सह–कोषाध्यक्षमा डा. तेजसुसिंह मल्ल रहेका छन्। प्रदेश संयोजकसहित सदस्य पदमा समेत उनको समूहबाट उम्मेदवारी परेको छ।
यस्तै, डा. मंगल रावल समूहबाट अध्यक्षमा रावल, वरिष्ठ उपाध्यक्षमा डा. कीर्तिपाल सुवेदी, महासचिवमा डा. कालुसिंह खत्री, कोषाध्यक्षमा डा. चन्दनी जयसवाल, सहसचिवमा डा. रामजीवन प्रसाद र सह–कोषाध्यक्षमा डा. सुवास गुरुङ प्रतिस्पर्धामा छन्।
‘टिम रिफर्म’ नाम दिइएको डा. नारायण भुषाल समूहबाट अध्यक्षमा भुषाल, वरिष्ठ उपाध्यक्षमा डा. अजयकुमार मिश्र, महासचिवमा डा. अमित भुषाल, कोषाध्यक्षमा डा. विनोदकुमार महाशेठ, सहसचिवमा डा. सन्तोष अधिकारी र सह–कोषाध्यक्षमा डा. राजकुमार दंगाल उम्मेदवार छन्।
संघको विधानअनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, प्रत्येक प्रदेशबाट १–१ जना गरी ७ उपाध्यक्ष, महासचिव १, कोषाध्यक्ष १, सहसचिव १, सह–कोषाध्यक्ष १ र ६ सदस्य गरी कुल १९ जनाको केन्द्रीय कार्यसमिति निर्वाचित हुनेछ।


