
तनहुँ- तनहुँको बन्दीपुर अस्पतालबाट एक वर्षको अवधिमा २४ हजारभन्दा बढी नागरिकले स्वास्थ्य सेवा लिएका छन् । अस्पतालले बिहान ७ः०० देखि बेलुकी ८ः०० बजेसम्म सञ्चालन गरेको विस्तारित बहिरङ्ग (ओपिडी) सेवा सञ्चालनपछि यहाँ आउने नागरिकलाई उपचारमा सहज भएको हो ।
अस्पतालको वार्षिक प्रतिवेदनअनुसार वैशाखदेखि चैत मसान्तसम्म कुल २४ हजार ३०४ जनाले ओपिडी सेवा लिएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनील गिरीले जानकारी दिए ।
विसं २०८२ वैशाख १ गतेदेखि सुरु गरिएको यस सेवाको एक वर्ष पूरा भएका अवसरमा अस्पतालले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कअनुसार नियमित समयभन्दा अतिरिक्त समयमा सेवा लिनेहरूको आकर्षण उल्लेख्य छ ।
तीमध्ये ५२ दशमलव ९९ प्रतिशत सेवाग्राहीले नियमित समयमा र ४७ दशमलव शून्य एक प्रतिशतले अतिरिक्त समयमा सेवा लिएका मेडिकल सुपरिटेन्डेन्ट डा गिरीले जानकारी दिए । कार्यालय समयमा भ्याउन नसक्ने कर्मचारी, विद्यार्थी, मजदुर, व्यापारी र गृहिणीहरूका लागि यो सेवा ‘वरदान’ सावित भएको उनले बताए ।
उनले भने, “एक वर्षको यो यात्रा हाम्रा लागि निकै उत्साहजनक छ । अस्पतालको ओपिडी सेवालाई बिहान ७ः०० देखि बेलुकी ८ः०० बजेसम्म विस्तार गर्ने हाम्रो लक्ष्य नागरिकको पहुँचमा पुगेको पुष्टि वार्षिक तथ्याङ्कले गरेको छ ।”
सेवाग्राहीको चापलाई हेर्दा अब यो सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानुपर्ने देखिएको छ । तथ्याङ्कअनुसार असोज र कात्तिक महिनामा अतिरिक्त ओपिडी सेवा लिनेको सङ्ख्या अन्य महिनाको तुलनामा बढी हो ।
अस्पतालले कार्यालय खुल्ने दिन बिहान ७ः०० देखि १०ः०० बजेसम्म र दिउँसो २ः०० देखि बेलुकी ८ः०० बजेसम्म तथा सार्वजनिक बिदा र शनिबारका दिन बिहान ७ः०० देखि बेलुकी ८ः०० बजेसम्म सेवा प्रदान गर्दै आएको छ ।
आकस्मिक विभागको तथ्याङ्कबाहेकको यो विवरणले स्थानीय तहमा स्वास्थ्य सेवालाई सहज र पहुँचयोग्य बनाउन बन्दीपुर अस्पतालले सुरु गरेको यो अभ्यास जिल्लामै उदाहरणीय बन्दै गएको छ ।
विस्तारित ओपिडी सेवाले कार्य व्यस्तताका कारण स्वास्थ्य परीक्षणबाट वञ्चित रहनुपर्ने बाध्यतालाई अन्त्य गर्दै नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच स्थापित गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।


