
काठमाडौं- नेपाल मेडिकल काउन्सिलले एक जना चिकित्सकको नाम दर्ता (लाइसेन्स) खारेज गरेको छ।
काउन्सिलको ६ चैतमा बसेको दर्ता समितिको बैठकको निर्णयअनुसार डा. तुषार सरबजना (नेमेकादर्ता नं. ३५१४२) को अस्थायी एमबीबीएस दर्ता तथा विशेषज्ञ (एमडी अप्थाल्मोलोजी) दर्ता खारेज गरिएको हो।
काउन्सिलका अनुसार सरबजनाले भारतीय नागरिक कोटामा नेपालमै अध्ययन पूरा गरी पछि नेपाली नागरिकता (वंशज) पेश गरेका थिए। तर उनी भारतको मेडिकल काउन्सिलमा पनि चिकित्सकका रूपमा दर्ता रहेको देखिएपछि कानुनी विवाद उत्पन्न भएको हो।
काउन्सिलका रजिस्ट्रार डा. सतिशकुमार देवका अनुसार स्थायी दर्ताका लागि पेश गरिएका कागजातमा भारतीय पासपोर्ट र नेपाली नागरिकता दुवै देखिएको थियो। साथै, उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विदेशी विद्यार्थी (फरेन नेशनल फुल ट्युसन फी) को रूपमा अध्ययन गरेको विवरण पनि भेटिएको जनाइएको छ।
गृह मन्त्रालयबाट प्राप्त पत्रअनुसार सरबजनाले २०७८ असोज २८ गते जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता प्राप्त गरेको उल्लेख छ। तर भारतको नेशनल मेडिकल काउन्सिलमा उनी अझै भारतीय चिकित्सकका रूपमा दर्ता रहेको देखिएपछि विदेशी नागरिकको हैसियत स्पष्ट भएको काउन्सिलको भनाइ छ।
काउन्सिलले विदेशी नागरिकका रूपमा अध्ययन गरेका चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलमा स्थायी दर्ता दिन नमिल्ने प्रावधानअनुसार उनको दर्ता खारेज गरिएको स्पष्ट पारेको छ।
यसअघि २०८१ असोज १६ गते काउन्सिलले उनको अस्थायी दर्ता फुकुवा गर्दै विशेषज्ञ चिकित्सकका रूपमा दर्ता गर्ने निर्णय गरेको थियो।


