
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका उच्च स्वास्थ्य कर्मचारीको सरुवा, पदस्थापन तथा काज फिर्ता गरेको छ।
स्वास्थ्यमन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयअन्तर्गतका तीन महत्त्वपूर्ण महाशाखाका प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेकी हुन्।
नयाँ व्यवस्थाअनुसार राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रकी निर्देशक यशोदा अर्याल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रोशन न्यौपाने र हालै एघारौँ तहमा बढुवा भएका डा. गुणनिधि शर्मालाई मन्त्रालयमा ल्याइएको छ। उनीहरूको महाशाखागत जिम्मेवारी भने अझै औपचारिक रूपमा तोकिन बाँकी रहेको मन्त्रालय स्रोतले जनाएको छ।
त्यसैगरी मन्त्रालयले विभिन्न महाशाखामा कार्यरत वरिष्ठ चिकित्सकहरूको काज फिर्ता पनि गरेको छ। नीति योजना महाशाखाका डा. चुमनलाल दासलाई नारायणी अस्पताल पर्सा, स्वास्थ्य समन्वय महाशाखाका डा. भीम सापकोटालाई हेटौँडास्थित किटजन्य प्रयोगशाला तथा गुणस्तर मापन तथा निरीक्षण महाशाखाका प्रमुख डा. सरोज शर्मालाई वीर अस्पतालमै काज फिर्ता गरिएको छ।
यस्तै, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलको काज फिर्ता गरी गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा गरिएको छ। तर उनी बोर्डको कार्यकारी प्रमुखकै भूमिकामा रहेकाले तत्काल बोर्डमै कार्यसम्पादन गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले कार्यसम्पादनलाई प्रभावकारी बनाउन र दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन गर्न यस्तो निर्णय गरिएको जनाएको छ।


