
काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको आज शल्यक्रिया हुँदैछ । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीको शल्यक्रिया गर्न लागिएको हो ।
उपचारमा संलग्न चिकित्सकले यसअघि नै शल्यक्रियाको मिति आजका लागि तय गरेका थिए। पूर्वतयारी अनुसार नै ओलीलाई अपरेसन थिएटरमा लगिएको छ। उनको पित्तथैलीमा २२ एमएमको ढुंगा रहेको बताइएको छ।
चैत १४ गते प्रहरीले गुण्डुस्थित निवासबाट ओलीलाई पक्राउ गरेको थियो। स्वास्थ्य अवस्थाको कारण देखाउँदै उनलाई सोही दिन बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
ओलीको गिरफ्तारीपछि उनकी पत्नी राधिका शाक्यले गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।
सर्वोच्च अदालतले २३ चैत बेलुका ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैतभित्र टुंग्याउन आदेश दिएको थियो। २४ गते थुनामुक्त भए पनि शल्यक्रिया गर्नुपर्ने भएकाले उनी हालसम्म अस्पतालमै रहेका छन्।


