

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डसँग सम्बन्धित विवादमा दुई उच्च अधिकारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेललाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार स्वास्थ्य बीमा बोर्डका सदस्य नियुक्ति, बैठकमा उपस्थितिलगायतका विषयमा सञ्चारमाध्यममा सार्वजनिक भएका विवरणहरूलाई लिएर उनीहरूसँग स्पष्टीकरण सोधिएको हो। विशेषगरी बोर्डको निर्णय प्रक्रिया, माइन्युट मिलाउने काम तथा उपस्थितिसम्बन्धी कागजात व्यवस्थापनमा कर्मचारीहरूको भूमिकाबारे प्रश्न उठेपछि मन्त्रालयले औपचारिक रूपमा चासो देखाएको हो।
मन्त्रालयको कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत दिपेन्द्र दहालद्वारा हस्ताक्षरित पत्रमा डा. सापकोटा र डा. पौडेललाई उक्त घटनामा आफ्नो संलग्नता रहे–नरहेको स्पष्ट पार्न तथा यस्तो अवस्था किन सिर्जना भयो भन्नेबारे विस्तृत विवरण दिन भनिएको छ। पत्रमा तीन दिनभित्र मन्त्रालयमा स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।
उक्त विवाद निस्क्रिय भइसकेकी स्वास्थ्य बीमा बोर्ड सदस्य जुनु श्रेष्ठलाई पुनः बैठकमा सहभागी गराइएको विषयबाट सुरु भएको हो। श्रेष्ठ पूर्व श्रम तथा रोजगारमन्त्री दीपककुमार साहकी पत्नी हुन्। उनलाई लामो समयदेखि निष्क्रिय रहँदा पनि पुनः सक्रिय गराएर बैठकमा सहभागी गराइएको भन्दै प्रश्न उठेको थियो।
यसै विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री साहमाथि पदीय मर्यादा दुरुपयोग गरेको आरोप लगाउँदै उनलाई फिर्ता बोलाएको थियो। घटनापछि मन्त्रालयले सम्बन्धित अधिकारीहरूको भूमिकामाथि छानबिन अघि बढाएको हो।


