

काठमाडौं- नेपाल चिकित्सक संघले चिकित्सकहरूलाई औषधिको जेनेरिक नाम लेख्नुपर्ने विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ। संघले पुनः प्रकाशित विज्ञप्तिमार्फत नेपालमा हालको औषधि प्रणाली, नियमन अवस्था र गुणस्तर मापनका चुनौतीहरूलाई औंल्याउँदै जेनेरिक नाम मात्र लेख्ने नीति व्यवहारिक नभएको जनाएको हो।
संघका अनुसार औषधि उत्पादन तथा बिक्री वितरण तीन प्रकारका हुन्छन्, ब्रान्डेड, ब्रान्डेड जेनेरिक र जेनेरिक। नेपालमा औषधि व्यवस्था विभागमा जेनेरिक औषधि अलग रूपमा दर्ता नहुने र अधिकांश औषधि ब्रान्डेड जेनेरिककै रूपमा बजारमा आउने भएकाले सबैलाई जेनेरिक भन्नु व्यवहारिक रूपमा उपयुक्त नहुने संघको तर्क छ।
संघले जेनेरिक नाममा औषधि लेख्दा विभिन्न कम्पनीका उत्पादनहरूको गुणस्तर फरक हुन सक्ने र त्यसले बिरामीको उपचारमा असर पर्न सक्ने जनाएको छ। साथै, यस्तो अभ्यासले उपचारमा संलग्न चिकित्सकमाथि अनावश्यक प्रश्न उठ्ने र उनीहरूको विश्वसनीयता तथा प्रतिष्ठामा असर पर्ने उल्लेख गरिएको छ।
नेपाल–भारत खुला सीमा कारण गुणस्तर परीक्षण नभएका वा अवैध रूपमा भित्रिएका औषधिहरू बजारमा आउने जोखिमसमेत रहेको संघको भनाइ छ। नियामक तथा गुणस्तर अनुगमन गर्ने प्रभावकारी संयन्त्रको अभावले पनि समस्या बढाएको संघले जनाएको छ।
यी सबै कारण देखाउँदै चिकित्सकलाई जेनेरिक नाम मात्र लेख्नुपर्ने व्यवस्था असान्दर्भिक, अव्यवहारिक र अवैज्ञानिक रहेको नेपाल चिकित्सक संघको निष्कर्ष छ।
संघले जेनेरिक औषधि प्रभावकारी रूपमा लागू गर्न नीतिगत सुधार, कडा नियमन, गुणस्तर मापन प्रणाली, स्वायत्त नियामक निकाय, अनुगमन संयन्त्र, डिजिटल सपोर्ट र जनचेतना आवश्यक रहेको बताएको छ। यी पूर्वाधार विकास भएपछि मात्र चिकित्सकहरू विश्वस्त रूपमा जेनेरिक नाममा औषधि सिफारिस गर्न सक्ने संघले स्पष्ट पारेको छ।





