

काठमाडौं- श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा नियुक्ति दिएको विवादपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह पदमुक्त भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिफारिसमा बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन्।
रास्वपा सभापति रवि लामिछानेले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गर्दै आफ्नी पत्नी जुनु श्रेष्ठलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यमा सक्रिय गराएको आरोप लगाउँदै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए।
यसअघि रास्वपाको केन्द्रीय अनुशासन आयोगले पनि विस्तृत अध्ययनपछि साहलाई कारबाही गर्नुपर्ने निष्कर्षसहित प्रतिवेदन पार्टीलाई बुझाएको थियो। उक्त गतिविधिले पार्टीको छवि, आदर्श र मर्यादामा गम्भीर असर पर्ने ठहर गर्दै सभापति लामिछानेले आयोगको प्रतिवेदनसहित प्रधानमन्त्रीसमक्ष सिफारिस पेस गरेका हुन्।
सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले साहलाई पदमुक्त गरेको जानकारी उनका प्रेस विज्ञ दीपा दाहालले दिएकी छन्। रास्वपाले पार्टी विधानको धारा २५ (४) (क) अनुसार सभापतिलाई पार्टीको मर्यादा जोगाउने जिम्मेवारी रहेको र धारा ६९ अनुसार ‘राइट टु रिकल’ प्रयोग गर्दै साहलाई फिर्ता बोलाइएको जनाएको छ।
यस्तै, उक्त प्रकरणमा अपेक्षित गम्भीरता नदेखाएको भन्दै सभापति लामिछानेले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई पनि सचेत गराउन सिफारिस गरेका थिए। सोही आधारमा प्रधानमन्त्री शाहले स्वास्थ्यमन्त्री मेहतालाई समेत सचेत गराएका छन्।


