

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल सेवा सुधार कार्यविधि, २०८२ जारी गरेको छ । अस्पतालहरूको सेवा प्रवाहलाई गुणस्तरीय, प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यले उक्त कार्यविधि लागू गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नयाँ कार्यविधिले सरकारी तथा सार्वजनिक अस्पतालहरूमा सेवा व्यवस्थापन, बिरामीमैत्री व्यवहार, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेको छ । अस्पतालहरूमा सेवा लिने बिरामीलाई सहज पहुँच सुनिश्चित गर्न, प्रतीक्षा समय घटाउन र उपचार प्रक्रियालाई व्यवस्थित बनाउन विशेष जोड दिइएको छ ।
कार्यविधिमा अस्पतालको भौतिक पूर्वाधार सुधार, आवश्यक जनशक्ति व्यवस्थापन, उपकरणहरूको उचित प्रयोग तथा नियमित अनुगमनको व्यवस्था गरिएको छ । साथै, सेवा गुणस्तर मापनका लागि मापदण्ड निर्धारण गरी मूल्यांकन प्रणालीलाई पनि सुदृढ बनाउने उल्लेख गरिएको छ ।


