

कैलाली- वर्षौदेखि भौतिक संरचना बनेर पनि अलपत्रजस्तै परेको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अब अन्ततः सञ्चालनमा आउने संकेत देखिएको छ। आगामी शैक्षिक सत्रबाटै पठनपाठन सुरु हुने तयारीसँगै सुदूरपश्चिमभर उत्साहको लहर छाएको छ।
नेपाल सरकारले २०८० माघ २९ गते मन्त्रिपरिषद् बैठकमार्फत कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना र सञ्चालन गर्ने निर्णय गरेको थियो। तर, भौतिक पूर्वाधार तयार भइसक्दा पनि लामो समयसम्म विश्वविद्यालय सञ्चालन अन्योलमै थियो।
करिब ५१ हेक्टर क्षेत्रफलमा फैलिएको विशाल संरचनामा नेपाल सरकारले ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको छ। ४२ वटा भवन निर्माण सम्पन्न भइसके पनि प्रयोगविहीन जस्तै बनेको यो परियोजना अब भने ‘जीवन’ पाउने चरणमा पुगेको छ।
कैलाली क्षेत्र नं. ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. आनन्दबहादुर चन्दका अनुसार नयाँ सरकारले विश्वविद्यालय सञ्चालनलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक बजेट सुनिश्चित गरिसकेको छ। “आगामी शैक्षिक सत्रबाटै पठनपाठन सुरु गर्ने तयारी छ, यसले सुदूरपश्चिममा स्वास्थ्य र शिक्षा क्षेत्रमा ठूलो अवसर सिर्जना गर्नेछ,” उनले भने।
दुई वर्षदेखि प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा थन्किएको विश्वविद्यालयसम्बन्धी विधेयक अब अघि बढ्ने अपेक्षा गरिएको छ। सांसद चन्दले कानुनी र व्यावहारिक अवरोध हटाएर शैक्षिक कार्यक्रम र अस्पताल सेवा विस्तार गर्ने बाटो खुल्ने दाबी गरेका छन्।
उनका अनुसार प्रारम्भिक चरणमा ५० जना विद्यार्थीलाई एमबिबिएससहित चिकित्सा शिक्षा पढाउने योजना रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको विशेष चासोका कारण बजेट व्यवस्थापन सम्भव भएको पनि उनले उल्लेख गरे।
यसैबीच सुदूरपश्चिमका सांसदहरूले प्रधानमन्त्री कार्यालय पुगेर विश्वविद्यालयलाई रणनीतिक योजनामा समेट्दै बजेट विनियोजन गर्न माग गरेका थिए। कैलाली क्षेत्र नं. ४ का सांसद खेमराज कोइरालाका अनुसार विश्वविद्यालय सञ्चालनका लागि करिब २ अर्ब ५८ करोड रुपैयाँ बजेट सुनिश्चित भइसकेको छ र प्रधानमन्त्रीले काम तत्काल अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
यसअघि नै सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टीकापुर अस्पताललाई विश्वविद्यालयसँग आबद्ध गर्ने निर्णय प्रदेश सरकारले गरिसकेको छ। विश्वविद्यालयका उपकुलपति प्राडा सुनीलकुमार जोशीका अनुसार नयाँ शैक्षिक सत्रबाट चार वटा सङ्कायमा पठनपाठन सुरु गर्ने तयारी भइरहेको छ।
त्यसैगरी, विश्वविद्यालय सभाको पहिलो बैठक आगामी २५ गते बिहान ९ बजे विश्वविद्यालय परिसरमै बस्ने तय भएको छ। सबै तयारी पूरा भइसकेको जोशीले जानकारी दिएका छन्। यसअघि तीनवटा बैठक काठमाडौँमा बसेको भए पनि पहिलो पटक गेटामै बैठक हुन लागेको हो।
बैठकमा विश्वविद्यालयका नियमावली, कार्यविधि, आर्थिक तथा खरिदसम्बन्धी नियमहरू अनुमोदन गर्ने लगायत महत्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ।


