
काठमाडौं– औषधि व्यवस्था विभागले विभिन्न ६ प्रकारका नयाँ औषधि तथा मिश्रणहरूको गुणस्तर (स्ट्यान्डर्ड) स्वीकृत गरेको छ।
विभागले सार्वजनिक सूचना जारी गर्दै औषधि सल्लाहकार समितिको ५८औँ बैठकको सिफारिस तथा विभागीय निर्णयअनुसार ती औषधिहरूको ‘एनालिटिकल प्रोफाइल’ अनुमोदन गरिएको जनाएको हो।
स्वीकृत औषधिहरूमा लुरासिडोन एचसीएल ट्याब्लेट, सल्फामेथोक्साजोल–ट्राइमेथोप्रिम पाउडर, मेलोक्सिक्याम–प्यारासिटामोल बोलस, फिनेरिनोन ट्याब्लेट, मेकोबालामिन डिस्पर्सिबल ट्याब्लेट र एल्बेन्डाजोल बोलस रहेका छन्। विभागले यी सबै औषधिहरूका लागि सम्बन्धित एनालिटिकल प्रोफाइल नम्बर समेत निर्धारण गरेको छ।
औषधि सल्लाहकार समितिको ५८औँ बैठक (मिति २०८२ पुस ३०) ले उक्त औषधिहरूको गुणस्तर निर्धारणका लागि सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा विभागले २०८२ चैत २२ गते औपचारिक रूपमा स्वीकृति प्रदान गरेको हो।
विभागका अनुसार एनालिटिकल प्रोफाइल स्वीकृत भएसँगै अब ती औषधिहरूको उत्पादन, आयात तथा गुणस्तर परीक्षणमा एकरूपता कायम हुनेछ। यसबाट नेपाली बजारमा उपलब्ध औषधिको प्रभावकारिता र गुणस्तर सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।




