
काठमाडौं – वीर अस्पतालले चिकित्सकलाई औषधि सिफारिस गर्दा ‘ब्रान्ड’ नतोकी जेनेरिक नाममा लेख्न निर्देशन दिएको केही समय नबित्दै सोही अस्पतालकै दुई वरिष्ठ चिकित्सकले उक्त निर्णयप्रति सार्वजनिक रूपमा असहमति जनाएका छन्।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिलीप शर्माले चिकित्सकलाई औषधि तथा सर्जिकल सामग्री सिफारिस गर्दा कुनै कम्पनी विशेषको नाम उल्लेख नगरी सबैले बुझ्ने गरी जेनेरिक नाम ठूलो अक्षरमा लेख्न निर्देशन दिएका थिए। साथै, सिफारिस गर्दा चिकित्सकले आफ्नो लाइसेन्स नम्बर राखी हस्ताक्षर गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।
तर उक्त निर्णयप्रति प्रतिक्रिया दिँदै वीर अस्पतालकै वरिष्ठ कलेजो रोग विशेषज्ञ (हेपाटोलोजिस्ट) डा. सुधान्सु केसीले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन्। उनले सरकारी अस्पतालमा जेनेरिक नाम मात्र लेख्न लगाउनु “प्रचारबादी काम” भएको टिप्पणी गर्दै नेपालमा सबै औषधिको गुणस्तर समान नहुने दाबी गरेका छन्। आफ्नै अनुभव उल्लेख गर्दै उनले औषधिको ब्रान्ड परिवर्तनपछि बिरामी चाँडो निको भएको उदाहरणहरू समेत रहेको बताएका छन्। उनले लेखेका छन्, ‘सरकारी हस्पिटलमा औषधीको नाम जेनेरिक लेख्नु भन्नु प्रचारबादी काम हो । नेपालमा सबै औषधीको गुणस्तर एउटै छैन, त्यो आफ्नै घर परिवारमा प्रयोग गरेर थाहा भएको हो। औषधीको ब्राण्ड परिवर्तनपछि रोग चाँडै ठिक भएको प्रमाण धेरै छन् । त्यसैले विचार गरौं है ।’
त्यसैगरी, वीर अस्पतालकै वरिष्ठ मूत्र शल्यचिकित्सक (कन्सल्टेन्ट युरोसर्जन) डा. रोविन बहादुर बस्नेतले पनि उक्त पोस्टमा प्रतिक्रिया जनाउँदै जेनेरिक नाम लेख्ने व्यवस्था व्यवहारिक रूपमा चुनौतीपूर्ण हुन सक्ने संकेत गरेका छन्। उनले जेनेरिक नाम लेखे पनि बजारमा उपलब्ध औषधिको गुणस्तर र आपूर्तिमा प्रश्न उठाउँदै त्यसले गलत औषधि प्रयोग हुने जोखिम बढाउन सक्ने चिन्ता व्यक्त गरेका छन्। साथै, कुनै समस्या आएमा त्यसको जिम्मेवारी अन्ततः चिकित्सकमाथि नै आउने अवस्था हुन सक्ने उनको भनाइ छ। उनले लेखेका छन्, ‘जेनेरिक नाम लेखेर जेनेरिक ओखती नै दिने भए ठीक। डाक्टरलाई जेनेरिक नाम लेखाएर औषधीवालाले १ किन्दा २ सित्तैमा वाला औषधी भिडाउन पाउने भए। केही भवितव्य परेमा बजाउने त फेरि डाक्टरलाई नै न होला नि।’
वीर अस्पतालको निर्देशनले औषधि लेखन प्रणालीलाई पारदर्शी र सर्वसुलभ बनाउने उद्देश्य राखे पनि चिकित्सकहरूबीच यस विषयमा मतभेद देखिएको छ।


