

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतका स्वास्थ्य संस्थाहरूलाई ‘फोकल पर्सन’ तोक्न निर्देशन दिएको छ। ‘हेलो सरकार’मार्फत आउने नागरिक गुनासोहरूको प्रभावकारी सम्बोधन गर्न यस्तो व्यवस्था लागू गर्न लागिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीका अनुसार मातहतका ४६ वटा स्वास्थ्य संस्था, विभाग, अस्पताल तथा प्रतिष्ठानलाई यथाशीघ्र ‘फोकल पर्सन’ तोकेर विवरण पठाउन निर्देशन दिइएको हो।
उनले सरकारले अघि बढाएको शासकीय सुधार कार्यक्रमअन्तर्गत ‘हेलो सरकार’लाई थप स्तरोन्नति गरी नागरिकमैत्री ‘प्लेटफर्म’का रूपमा विकास गर्न खोजिएको बताए। सोही उद्देश्यअनुसार प्रत्येक निकायमा एक जिम्मेवार व्यक्तिलाई ‘फोकल पर्सन’का रूपमा तोकी गुनासो व्यवस्थापनलाई व्यवस्थित बनाइने उनले स्पष्ट पारे।
मन्त्रालयका अनुसार तोकिएका फोकल पर्सनहरूले ‘हेलो सरकार’मार्फत प्राप्त हुने नागरिकका गुनासोहरू ग्रहण गर्ने, समन्वय गर्ने र समाधान प्रक्रियालाई अघि बढाउने जिम्मेवारी निर्वाह गर्नेछन्।
यस सम्बन्धमा स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत ४६ वटा निकायलाई औपचारिक पत्राचार गरिसकिएको मन्त्रालयले जनाएको छ।


