

काठमाडौं – वीर अस्पतालले फार्मेसी सेवा व्यवस्थापनलाई थप अनुशासित, पारदर्शी र बिरामीमैत्री बनाउन निर्देशन जारी गरेको छ। अस्पताल प्रशासनले जारी गरेको सूचनामा फार्मेसी शाखामा कार्यरत कर्मचारीदेखि चिकित्सक र अन्य सरोकारवालासम्मका लागि स्पष्ट कार्यनीति र आचरणसम्बन्धी मापदण्ड तोकिएको छ।
निर्देशनअनुसार फार्मेसीमा कार्यरत सबै कर्मचारीले ड्यूटी रोष्टरअनुसार तोकिएको समयमा अनिवार्य रूपमा उपस्थित भई जिम्मेवारी निर्वाह गर्नुपर्नेछ। कार्यक्षेत्रमा रहँदा ड्रेस, एप्रोन र परिचयपत्र अनिवार्य गरिएको छ भने सेवा प्रवाहका क्रममा बिरामीसँग नम्र, शिष्ट र जिम्मेवार व्यवहार गर्न विशेष जोड दिइएको छ।
अस्पतालले समयभन्दा बढी काम गर्नुपरेमा ‘परफर्मेन्स बेस्ड इन्सेन्टिभ’ दिने व्यवस्था गर्ने उल्लेख गरेको छ। साथै विदा लिनु परे अग्रिम स्वीकृति अनिवार्य गरिएको छ र बिना जानकारी अनुपस्थित भएमा कारबाही हुने चेतावनी दिइएको छ।
औषधि लेखन प्रक्रियामा पनि अस्पतालले कडाइ गरेको छ। चिकित्सकहरूले अब बिरामीलाई औषधि सिफारिस गर्दा कुनै कम्पनी वा ब्रान्ड तोकेर लेख्न नपाउने, सबैले बुझ्ने गरी क्यापिटल लेटरमा जेनेरिक नाममै लेख्नुपर्ने व्यवस्था गरिएको छ। यसका साथै प्रिस्क्रिप्सनको अडिट गर्ने जिम्मा फार्मेसी शाखालाई दिइएको छ।
औषधि फिर्ता गर्ने विषयमा पनि स्पष्ट मापदण्ड तय गरिएको छ। बिरामीको मृत्यु भएको अवस्थाबाहेक अन्य सबै फिर्ता प्रक्रिया दैनिक साँझ ५ बजेपछि मात्रै गरिनेछ। कम्पनी वा ब्रान्ड नमिलेको भन्दै औषधि फिर्ता गराएर बिरामीलाई दुःख दिने कार्य नगर्न अस्पतालले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सचेत गराएको छ।
अस्पताल परिसरमा मेडिकल रिप्रिजेन्टेटिभको गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ। कार्यालय समयमा ओपीडी, इमर्जेन्सी तथा वार्डमा उनीहरूको प्रवेश निषेध गरिएको छ भने उल्लंघन भएमा निगरानी निकायमा जानकारी गराइने चेतावनी दिइएको छ।
त्यस्तै, बिरामीलाई बाहिरका फार्मेसीबाट औषधि किन्न दबाब दिने वा वार्डमा भिजिटिङ कार्ड वितरण गर्ने गतिविधि नगर्न पनि अस्पतालले कडा निर्देशन दिएको छ। यस्ता कार्यमा संलग्न पाइएमा सम्बन्धितलाई कारबाही गरिने जनाइएको छ।
बीमामा आबद्ध बिरामीलाई औषधि वितरणमा समेत समयसीमा तोकिएको छ। इमर्जेन्सीका बिरामीलाई सीमित दिनका लागि, भर्ना बिरामीलाई बढीमा ७ देखि १० दिनसम्म र ओपीडीका बिरामीलाई बढीमा एक महिनासम्मका लागि मात्रै औषधि उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
अस्पताल प्रशासनका अनुसार यी सबै निर्देशनको कडाइका साथ अनुगमन गरिनेछ र उल्लंघन भएमा तत्काल कारबाही गरिनेछ।



