

काठमाडौं – निजी मेडिकल तथा डेन्टल कलेज तथा अस्पतालहरूमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउने सम्बन्धमा भएको सम्झौता कार्यान्वयनमा ढिलासुस्ती देखिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ।।
मन्त्रालयका अनुसार २०८२ कार्तिक १५ गते भएको सहमतिअनुसार सेवा–सुविधा उपलब्ध गराउने प्रक्रिया कार्यान्वयनकै चरणमा रहे पनि केही स्वास्थ्य संस्थाले उक्त सम्झौता पालना नगरेको गुनासो प्राप्त भएको छ।
यस विषयलाई गम्भीर रूपमा लिँदै मन्त्रालयले सबै सम्बन्धित सरोकारवाला निकायलाई सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ। मन्त्रालयले जारी गरेको सूचनामा नर्स तथा स्वास्थ्यकर्मीहरूको हकहित सुनिश्चित गर्न कुनै पनि सम्झौता उल्लंघन सह्य नहुने स्पष्ट संकेत दिएको छ।
मन्त्रालयले अब नियमित अनुगमनलाई तीव्रता दिने जनाउँदै अनुगमनका क्रममा सम्झौता कार्यान्वयन नभएको पाइएमा आवश्यक कानुनी तथा प्रशासनिक कारबाही गरिने चेतावनीसमेत दिएको छ।
निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूले लामो समयदेखि न्यूनतम पारिश्रमिक र सेवा सुविधा कार्यान्वयनको माग गर्दै आएका छन्।




