
काठमाडौं -औषधि व्यवस्था विभागले औषधि पसललाई कुशल फार्मेसी अभ्यास, कुशल भण्डारण तथा वितरण अभ्यास कार्यान्वयन गर्न आग्रह गरेको छ। विभागले औषधि विक्री–वितरणलाई थप व्यवस्थित, सुरक्षित र गुणस्तरीय बनाउन औषधि विक्री–वितरण संहिता, २०८० कार्यान्वयनमा जोड दिएको हो।
औषधि ऐन, २०३५ र औषधि दर्ता नियमावली, २०३८ अनुसार जारी गरिएको सूचनामा संहिताको दफा १७ बमोजिम कुशल फार्मेसी अभ्यास, कुशल भण्डारण तथा वितरण अभ्यास प्रमाणीकरण अनिवार्य प्रक्रिया भएको उल्लेख गरिएको छ। हाल केही औषधि पसल तथा थोक विक्रेताबाट प्रमाणीकरणका लागि आवेदन परिसकेको र त्यसको प्रक्रिया अघि बढिरहेको विभागले जनाएको छ।
विभागले इच्छुक औषधि पसल तथा थोक विक्रेतालाई संहितामा तोकिएका मापदण्डअनुसार आवश्यक पूर्वतयारी पूरा गरी अनुसूची–३ को ढाँचामा विभाग वा मातहतका शाखा कार्यालयमा आवेदन दिन आग्रह गरेको छ। प्रमाणीकरण प्रक्रिया, मूल्याङ्कन मापदण्ड र अन्य विवरण विभागको निर्णयअनुसार हुने जनाइएको छ।
नयाँ खोलिने थोक तथा खुद्रा फार्मेसीहरूले संहितामा उल्लेखित सबै मापदण्ड पूर्ण रूपमा पालना गरेपछि मात्र दर्ताका लागि आवेदन दिनुपर्ने स्पष्ट गरिएको छ। यसअघि दर्ता भइसकेका औषधि पसल तथा विक्रेताहरूले पनि क्रमशः संहिताअनुसारका मापदण्ड पूरा गर्नुपर्नेछ।
संहिताको पालना नगर्ने औषधि व्यवसायीमाथि औषधि ऐन, २०३५ तथा प्रचलित कानुनअनुसार कारबाही हुने विभागले चेतावनी दिएको छ। थप जानकारीका लागि विभागको आधिकारिक वेबसाइट तथा सम्बन्धित कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।




