

काठमाडौं – नेपालको क्यान्सर उपचार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका वरिष्ठ सर्जिकल अन्कोलोजिस्ट डा. प्रकाशराज न्यौपानेको शुक्रबार बिहान उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको छ। ६४ वर्षको उमेरमा क्यान्सरबाट पीडित रहेका उनको उपचारकै क्रममा ज्यान गएको हो।
पाटन अस्पतालमा क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीको नेतृत्वमा उनको उपचार भइरहेको थियो।उपचारमा संलग्न चिकित्सकका अनुसार डा. न्यौपाने विगत एक वर्षदेखि कोल्यान्जियोकार्सिनोमा (पित्तनलीको क्यान्सर)सँग संघर्षरत थिए। सर्जिकल अन्कोलोजीमा पीएचडी हासिल गरेका उनी नेपालका स्थापित तथा अनुभवी क्यान्सर विशेषज्ञका रूपमा परिचित थिए।
डा. न्यौपाने पेट, कलेजो, प्यान्क्रियाज, थाइरोइड, स्तन, मृगौला तथा छालासम्बन्धी क्यान्सरको जटिल शल्यक्रियामा विशेष दक्षता राख्ने वरिष्ठ कन्सल्टेन्ट सर्जिकल अन्कोलोजिस्ट थिए।
हाल उनी सर्जिकल अन्कोलोजी सोसाइटीका अध्यक्षका रूपमा कार्यरत थिए। साथै, बी एण्ड बी अस्पताल, ग्वार्को (ललितपुर) र काठमाडौं क्यान्सर सेन्टर, ताथली (भक्तपुर) मा वरिष्ठ कन्सल्टेन्टका रूपमा सेवा दिइरहेका थिए। नेपाल क्यान्सर रिलिफ सोसाइटीको केन्द्रीय कार्यसमितिमा पनि उनी सक्रिय सदस्य थिए।
यसअघि उनी भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर तथा बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनका अध्यक्षसमेत भइसकेका थिए।
शैक्षिक रूपमा उनले चीनको चाइना मेडिकल युनिभर्सिटीबाट जनरल सर्जरीमा एमएस तथा सर्जिकल अन्कोलोजीमा पीएचडी हासिल गरेका थिए।
डा. न्यौपानेले नेपालमा क्यान्सर उपचार सेवाको विस्तार, पहुँच र स्तरोन्नतिमा महत्वपूर्ण भूमिका खेलेका थिए। विशेषगरी भरतपुर क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालको विकास तथा सेवा विस्तारमा उनको सक्रिय योगदान रहँदै आएको थियो।


