
काठमाडौं- किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले आफ्नो १५औँ कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ। यस प्रक्रियामा २६ वर्षीया छोरीले आफ्ना ५० वर्षीय बुवालाई कलेजो दान गर्दै जीवनरक्षक योगदान दिएकी छन्।
अस्पतालका अनुसार छोरीको साहस, समर्पण र पारिवारिक माया झल्किने यो प्रत्यारोपण केवल चिकित्सकीय उपलब्धि मात्र नभई भावनात्मक रूपमा पनि प्रेरणादायी बनेको छ। उपचारका क्रममा देखिएको आशा, चुनौती र अन्ततः प्राप्त सफलताले उक्त प्रत्यारोपणलाई विशेष बनाएको अस्पतालले जनाएको छ।
किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले अंग प्रत्यारोपण सेवामा निरन्तर प्रगति गर्दै आएको उल्लेख गर्दै कलेजो तथा मिर्गौला प्रत्यारोपण सेवा दक्ष तथा अनुभवी चिकित्सक टोलीमार्फत नियमित रूपमा सञ्चालन भइरहेको बताएको छ।
नेपालको निजी क्षेत्रमै नियमित रूपमा अंग प्रत्यारोपण सेवा प्रदान गर्ने अग्रणी अस्पतालका रूपमा किष्टले आफ्नो पहिचान स्थापित गरिसकेको दाबी गरिएको छ। अस्पतालले भविष्यमा यस्ता जीवनरक्षक सेवाहरूलाई अझ प्रभावकारी, सुलभ र गुणस्तरीय बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।


