चितवन- चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसर पारी विशिष्टीकृत स्वास्थ्य शिविर गर्ने भएको छ ।
अस्पतालले आफ्नो ७० औँ वार्षिकोत्सवको अवसर पारी आगामी चैत २३ गते सोमबार रत्ननगरमा विशिष्टीकृत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) प्रा.डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
रत्ननगर नगरपालिका १ स्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बकुलहरको सहकार्यमा सोही स्थानमा सो स्वास्थ्य शिविर गर्न लागेको हो ।
स्वास्थ्य शिविर अन्तर्गत ग्यास्ट्रोएन्टेरोलोजी, युरोलोजी, डेण्टल, कार्डियोलोजी, डर्माटोलोजी, अर्थोपेडिक, ईन्डोक्राइनोलोजी, ई.एन.टी (नाक, कान, घाटी) लगायतका विशिष्टीकृत सेवा उपलब्ध हुने मेसु डा. पौडेलले जानकारी दिए ।
सो शिविरमा विभिन्न रोग विशेषज्ञ डाक्टरहरु आएर सेवा दिने भएकाले सम्बन्धीत स्वास्थ्य समस्या भएकाहरुले यो शिविरमा आएर आफ्नो नाम दर्ता गराई निःशुल्क रुपमा स्वास्थ्य सेवा लिनु हुन स्थानीय सबैमा उनले अनुरोध समेत गरेका छन् ।
स्वास्थ्य शिविरसँगै आगामी चैत २५ गते परेको ७० औँ वार्षिकोत्सवको अवसर पारी खेलकुद प्रतियोगिता, कविता प्रतियोगिता, स्वास्थ्य सम्बन्धी वक्तृत्वकला प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, वार्षिक प्रतिवेदन र स्मारिका प्रकाशन तथा विमोचन, निःशुल्क स्वास्थ्य शिविर, वृहत् रक्तदान कार्यक्रम, फलफुल वितरण, सेवा निवृत्त एवम् उत्कृष्ट कर्मचारीलाई सम्मान लगायत थुप्रै कार्यक्रमहरू रहने उनले बताए ।







