

धनगढी- कैलालीको धनगढीमा तीन वर्षीय एक बालकमा स्क्रबटाइफस संक्रमण पुष्टि भएको छ।
धनगढी उपमहानगरपालिका–५ तारानगरका ती बालकमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ। हाल उनको धनगढीस्थित एक निजी अस्पतालमा उपचार भइरहेको छ र अवस्था खतरामुक्त रहेको स्वास्थ्य कार्यालयका प्रमुख रमेश कुँवरले जानकारी दिए।
बालक चैत १२ गते आमासँगै गाउँ गएका थिए। त्यहाँबाट फर्किएपछि उनलाई उच्च ज्वरो देखिएपछि अस्पताल लगिएको थियो। परीक्षणका क्रममा स्क्रबटाइफस पुष्टि भएपछि उनलाई भर्ना गरेर उपचार सुरु गरिएको हो। बालककी आमाका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ।
वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कुँवरका अनुसार स्क्रबटाइफस मुसाको शरीरमा पाइने उपियाँको टोकाइबाट सर्ने रोग हो। उपियाँले टोकेको ७ देखि १० दिनभित्र संक्रमणका लक्षण देखिन सक्छन्। शरीरमा उपियाँले टोकेको स्थानमा कालो दाग देखिनु र उच्च ज्वरो आउनु यसको मुख्य लक्षण हुन्।
कुँवरले समयमै परीक्षण र उपचार गरिएमा स्क्रबटाइफस सजिलै निको हुने बताए। तर ज्वरो आएको अवस्थामा बेवास्ता गरिएमा बिरामीको ज्यानसमेत जोखिममा पर्न सक्ने उनको चेतावनी छ। “समयमै स्वास्थ्य परीक्षण गरियो भने स्क्रबटाइफस पहिचान गरी उपचार सम्भव हुन्छ, ढिला भयो भने ज्यानसमेत जान सक्छ,” उनले भने।
पछिल्ला केही वर्षयता कैलालीसहित सुदूरपश्चिमका जिल्लाहरूमा स्क्रबटाइफसको संक्रमण बढ्दो क्रममा रहेको छ। घर, खेत तथा जङ्गल क्षेत्रमा बसोबास गर्ने मुसामा पाइने उपियाँको टोकाइका कारण ग्रामीण भेगमा यसको जोखिम अझ बढी देखिएको स्वास्थ्य अधिकारीहरू बताउँछन्।


