

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज पनि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमै राखेर उपचार गरिने भएको छ।
अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार ओलीलाई २४ घण्टा चिकित्सकको निगरानीमा राखेर उपचार गर्ने निर्णय गरिएको छ। “उहाँलाई निरन्तर निगरानीमा राखिएको छ, भोलिसम्म स्वास्थ्यमा आउने सुधार हेरेर थप निर्णय लिइनेछ,” उनले भने।
ओली हाल अस्पतालको एनेक्स–१ भवनको बेड नम्बर ५०१ मा उपचाररत छन्। मुटुको धड्कन (ढुकढुकी) सम्बन्धी समस्या देखिएपछि उनलाई चैत १४ गते अस्पतालमा भर्ना गरिएको हो।
अस्पतालले सार्वजनिक गरेको विवरणअनुसार ओली मिर्गौला प्रत्यारोपणपछि हाइड्रोनेफ्रोसिस, मधुमेह, उच्च रक्तचाप, हाइपोथाइराइडिज्म, एट्रियल फिब्रिलेसन तथा पित्तथैलीसम्बन्धी समस्याबाट पनि पीडित छन्। पित्तथैलीमा पत्थरी देखिएकाले चिकित्सकको सल्लाहअनुसार थप उपचार प्रक्रिया तय गरिने जनाइएको छ।
जेनजी आन्दोलन दमन प्रकरणमा फौजदारी कारबाही सिफारिस भएपछि उनलाई शनिबार निवासबाट पक्राउ गरी केही समय जिल्ला अदालत काठमाडौँमा राखेर उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो।



