

काठमाडाैं- सुदूरपश्चिमसहित देशका दुर्गम तथा पहाडी क्षेत्रका आपतकालीन स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकारले एयर एम्बुलेन्स ‘स्ट्यान्डबाइ’ अवस्थामा राख्ने व्यवस्था मिलाउने भएको छ। शासकीय सुधारका लागि तय गरिएको १०० दिने कार्यसूचीअन्तर्गत उक्त योजना अघि सारिएको हो।
कार्यसूचीमा सुदूरपश्चिम, मध्य तथा पूर्वी नेपालका पहाडी भेगमा आकस्मिक स्वास्थ्य सेवाका लागि एयर एम्बुलेन्स तत्काल तयारी अवस्थामा राख्ने व्यवस्था लागू गरिने उल्लेख गरिएको छ।
यस्तै, सरकारले सरकारी तथा निजी अस्पतालहरूमा विपन्न, असहाय र बेवारिसे बिरामीका लागि कम्तीमा १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ।
निःशुल्क सेवाको पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्न ‘फ्री हेल्थ पोर्टल’ विकास गरी ३० दिनभित्र देशभर सञ्चालनमा ल्याइने योजना पनि सार्वजनिक गरिएको छ। उक्त पोर्टलमार्फत अस्पतालहरूले प्रदान गर्ने निःशुल्क सेवा तथा त्यसको उपयोगको वास्तविक समयमै अनुगमन गर्न सकिनेछ।
त्यसैगरी बिरामीको उपचार इतिहास, रिफरल प्रणाली, पुनः सेवा तथा क्लिनिकल फलोअपलाई व्यवस्थित गर्न तीन महिनाभित्र डिजिटल तथा एकीकृत ‘पेसियन्ट रेकर्ड सिस्टम’ विकास गरिने उल्लेख छ।
अनावश्यक रूपमा निजी अस्पतालमा रिफर गर्ने प्रवृत्ति नियन्त्रण गर्न स्पष्ट ‘रिफर प्रोटोकल’ लागू गरिने सरकारको योजना छ।
यसैबीच, प्रदेशस्तरमा जलन (बर्न) उपचारका लागि सुविधासम्पन्न अस्पतालको अभावका कारण बढ्दै गएको मृत्यु, अपाङ्गता तथा दीर्घकालीन पुनर्स्थापनाको समस्या समाधान गर्न ३० दिनभित्र प्रदेश अस्पतालहरूमा ‘बर्न वार्ड’ स्थापना प्रक्रिया सुरु गरिने जनाइएको छ।


