

काठमाडौं- जन्मेदेखि किशोरावस्थासम्मका बालबालिकामा देखिने जटिल स्वास्थ्य समस्याको समाधानमा बाल शल्यचिकित्साको भूमिका अत्यन्त महत्वपूर्ण रहेको चिकित्सकहरूले बताएका छन्। ह्याम्स अस्पतालमा कार्यरत बाल शल्य चिकित्सक डा. दिनेश प्रसाद कोइरालाका अनुसार जन्मदेखि १६ वर्षसम्मका बालबालिकामा देखिने विभिन्न संरचनात्मक तथा जन्मजात समस्याहरू शल्यक्रियामार्फत सफलतापूर्वक उपचार गर्न सकिन्छ।
डा. कोइरालाले भने, “जन्मिँदैदेखि देखिने समस्या जस्तै खाद्यनली नभएको अवस्थामा जोड्ने, फोक्सोमा प्वाल परेर आन्द्रा छातीमा सर्ने, आन्द्रा पेटबाहिर निस्किने, पिसाब नलीको समस्या, लिंगमा देखिने विकृति लगायतका जटिल समस्या शल्यक्रियाबाट समाधान गर्छौं।” उनका अनुसार यस्ता समस्या अधिकांश अवस्थामा बच्चा पेटमै हुँदा गरिने अल्ट्रासाउन्डबाट नै पहिचान गर्न सकिन्छ भने जन्मेपछि पनि समयमै उपचार सम्भव हुन्छ।
उनले हर्निया, हाइड्रोसिल तथा एपेन्डिसाइटिस जस्ता सामान्यदेखि जटिल अवस्थासम्म बाल शल्यचिकित्सामार्फत उपचार गरिने जानकारी दिए। “बाल शल्यक्रिया र वयस्क शल्यक्रियामा धेरै फरक हुन्छ। बच्चाको शरीरको संरचना, सहनशीलता र प्रतिक्रिया फरक हुने भएकाले उपचार पद्धति पनि फरक हुन्छ,” उनले भने।
बाल शल्यक्रिया अत्यन्त संवेदनशील प्रक्रिया भएकाले विशेष दक्षता आवश्यक पर्ने डा. कोइरालाको भनाइ छ। “एउटा शल्यक्रियाका लागि कम्तीमा दुईजना सर्जन र दुईजना एनेस्थेसिया विशेषज्ञको टिम तयार पारिन्छ,” उनले भने, “तर उपकरण र पूर्वाधार अभावका कारण नेपालमा एक महिनाभन्दा कम उमेरका नवजात शिशुको जटिल शल्यक्रिया अझै पनि पूर्ण रूपमा गर्न सकिएको छैन।”
यद्यपि, बालबालिकामा गरिने शल्यक्रियापछि छिटो निको हुने दर उच्च रहेको उनले बताए। “बच्चाहरूको शरीरमा रिकभरी क्षमता बढी हुन्छ, त्यसैले समयमै उपचार गरियो भने परिणाम निकै राम्रो आउँछ,” उनले थपे।
नेपालमा हाल करिब ३०–३१ जना मात्र बाल शल्य चिकित्सक रहेको उल्लेख गर्दै उनले विशेषज्ञको अभावले सेवा विस्तारमा चुनौती थपिएको बताए। देशभर सबै क्षेत्रमा यस्तो सेवा उपलब्ध गराउन अझै धेरै जनशक्ति र उपकरण आवश्यक रहेको उनको भनाइ छ।
डा. कोइरालाले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि गर्भावस्थादेखि नै सावधानी अपनाउनुपर्नेमा जोड दिए। “आमाको स्वास्थ्य, जीवनशैली, पोषण र वातावरणीय असरले बच्चाको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ,” उनले भने, “बदलिँदो जलवायु परिवर्तन, प्रदूषण र अस्वस्थ जीवनशैलीका कारण बालबालिकामा जन्मजात तथा अन्य स्वास्थ्य समस्या बढ्दै गएको देखिन्छ।”
उनले समयमै जाँच, सचेतना र विशेषज्ञ उपचारले धेरै जटिल समस्या समाधान गर्न सकिने भएकाले अभिभावकलाई सजग हुन आग्रह गरे।


