

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता दीपककुमार साह श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
महोत्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अप्टोमेट्रिस्ट साहले उच्च शैक्षिक योग्यता हासिल गरेका छन्। उनले लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनमा पीएचडी स्कलरका रूपमा अध्ययन गरेका छन् भने लण्डन स्कूल अफ इकोनोमिक्सबाट हेल्थ पोलिसी तथा प्लानिङ एण्ड फाइनान्सिङमा स्नातकोत्तर गरेका छन्।
त्यसैगरी, उनले इन्स्टिच्युट अफ मेडिसिनबाट पब्लिक हेल्थ र अप्टोमेट्रीमा स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट एलएलबी समेत पूरा गरेका छन्। विश्व स्वास्थ्य सङ्गठन तथा युके हेल्थ सेक्युरिटी एजेन्सी जस्ता अन्तर्राष्ट्रिय संस्थामा काम गर्दै उनले नीति निर्माण र स्वास्थ्य प्रणाली सुधारमा अनुभव हासिल गरेका छन्।
साह मैथिली कला, भाषा र साहित्यको प्रवर्द्धनमा पनि सक्रिय रहँदै आएका छन्।


