

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भएकी छन्। नर्सिङ पेशाबाट राजनीति यात्रा सुरु गरेकी मेहता अहिले नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै संघीय सरकारको महत्वपूर्ण जिम्मेवारीमा पुगेकी हुन्।
सुनसरीको इनरुवामा २०४४ साल साउन २२ गते जन्मिएकी मेहता पेशागत रूपमा नर्स हुन्। भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर अध्ययन पूरा गरेपछि उनी नेपाल फर्किएकी थिइन्। त्यसपछि उनले विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा स्वास्थ्य सेवा प्रदान गर्दै आएकी थिइन्। सांसदको प्रमाणपत्र लिएपछि मात्रै उनले आफ्नो पेशागत जिम्मेवारीबाट राजीनामा दिएकी हुन्।
मेहता रास्वपाको स्थापनाकालदेखि नै पार्टीसँग आबद्ध रहँदै आएकी थिइन्। अघिल्लो निर्वाचनमा समानुपातिक सूचीमा परे पनि सांसद बन्न सफल नभएकी उनी यसपटक भने मधेशी क्लस्टरबाट प्रतिनिधिसभा सदस्य बन्न सफल भइन्।


