

लुम्बिनी – बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाको हिसाबले पुनः उत्कृष्ट अस्पताल घोषित भएको छ।
न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्याङ्कनमा उत्कृष्ट नतिजा हासिल गर्दै उक्त अस्पतालले लगातार तेस्रो वर्ष देशभर पहिलो स्थान कायम राख्न सफल भएको हो। यस वर्ष ‘सेकेण्डरी बी’ लेभलको मूल्याङ्कनमा सुधार गर्दै ९० अंक प्राप्त गरी अस्पतालले आफ्नो उत्कृष्टता निरन्तरता दिएको छ।
अस्पतालमा आयोजित सेवा मूल्याङ्कन समीक्षा कार्यक्रममा यहाँ उपलब्ध सेवा, उपकरण, भौतिक पूर्वाधार तथा जनशक्तिबारे विस्तृत प्रस्तुति गरिएको थियो।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले सरकारी अस्पतालप्रति जनमानसमा रहेको नकारात्मक धारणा क्रमशः हट्दै गएको उल्लेख गरे। उनले मूल्याङ्कनमा प्राप्त अंक मात्रै होइन, सेवाग्राहीले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवा सुधार गर्नुपर्नेमा जोड दिए।
त्यसैगरी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रोशनलाल चौधरीले अस्पतालका सेवालाई थप विशिष्टीकृत बनाउँदै लैजान आग्रह गरे।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले एमएसएस मूल्याङ्कनमा प्राप्त उपलब्धि सन्तोषजनक भए पनि अझै सुधारको आवश्यकता रहेको बताउँदै आगामी दिनमा थप योजनासहित अघि बढ्ने जानकारी दिए।
हाल उक्त अस्पतालमा ५१ जना विशेषज्ञ चिकित्सकसहित ८५० भन्दा बढी स्वास्थ्यकर्मी तथा कर्मचारीमार्फत सेवा प्रवाह भइरहेको छ।


