

चितवन- चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्ण प्रसाद पौडेलले अझ गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह तर्फ आफूहरूको ध्यान केन्द्रित भएको बताएका छन् । अस्पतालले चैत २५ गते ७० औँ वार्षिकोत्सव भव्य रूपमा मनाउन लागेको बताउँदै उनले अस्पतालमा नयाँ-नयाँ सेवा थप गरी अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिइएको जानकारी दिए ।
मेरुदण्डमा समस्या भएका बिरामीको उपचारका लागि रोटरी क्लबको अगुवाइमा अस्पताल परिसरमा रोटरी स्पाइनल इन्जुरी सेन्टर सञ्चालनमा ल्याउन लागिएको उनले बताए । त्यस्तैगरी, मानसिक स्वास्थ्यसम्बन्धी उपचार, पुनर्स्थापना सेवा र जनचेतना अभिवृद्धिको उद्देश्यसहित अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरी सञ्चालन गर्न लागिएको जानकारी दिए । यो केन्द्र नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थ नामक संस्थाको सहकार्यमा सञ्चालन गर्न लागिएको हो ।
अमेरिकामा कार्यरत नेपाली मानसिक स्वास्थ्य विज्ञ, चिकित्सक तथा परामर्शदाताहरूको पहलमा सञ्चालनमा ल्याइन लागेको उक्त केन्द्रले देशको मानसिक स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिने उनको अपेक्षा छ । अस्पतालमा छुट्टै सरूवारोग भवन मार्फत उपचार दिने । भरतपुर अस्पताल ट्रमा सेन्टरमा थप सेवा सहित पूर्ण रूपमा सञ्चालनमा ल्याउन लागिएको उनले बताए ।
त्यस्तै, आँखा उपचारको सेवालाई अझै राम्रो र प्रभावकारी बनाउन छुट्टै नयाँ भवन मार्फत उपचारको व्यवस्था गर्ने योजना रहेको उनले जानकारी दिए । शल्यक्रिया गर्न लामो समय कुर्नुपर्ने बाध्यतालाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा छलफल गरी सेवा तथा समय थप गरी अझ प्रभावकारी सेवामा जोड दिएको उनले बताए । विशेषज्ञ सेवा सहित उत्कृष्ट सेवा दिर्दै आएको यस अस्पताल गतवर्ष भएको न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनमा संघीय अस्पतालहरुमा देशकै पहिलो भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको मुल्याङ्कनमा ८८ प्रतिशत अङ्क सहित भरतपुर अस्पताल देशकै पहिलो अस्पताल बनेको हो । मेसु डा. पौडेलले उत्कृष्ट अङ्क सहित भरतपुर अस्पतालले ‘ग्रिनजोन’ स्टिकर प्राप्त गरेको जानकारी दिए । ‘ग्रिनजोन’ स्टिकर ८५ प्रतिशतभन्दा वढी अङ्क ल्याउने अस्पताललाई मात्रै दिइने गरिन्छ । ‘ग्रिनजोन’ स्टिकर पाउने भरतपुर अस्पताल एक मात्रै अस्पताल हो । मेसु डा. पौडेल सोही अस्पतालमा लामो समयदेखि कार्यरत अर्थोपेडिक तथा स्पाइन सर्जन हुन् ।
उनी यस अस्पतालको समस्या, विकास निर्माणको अवस्था र गुरू योजनालगाएतका समग्र विषयमा निकै जानकार समेत छन् । उनको कार्यकालमा अस्पतालको दीगो विकास, सेवा प्रवाहलाई प्रभावकारी बनाउने लगायतका अस्पतालको चौतर्फी विकास निर्माणको काम समेत भइरहेको छ । बिरामीलाई छिटो छरितो र गुणस्तरीय सेवा प्रवाहमा उनले आफ्नो ध्यान केन्द्रित गरेका छन् ।
अस्पतालको सरसफाइ, भवन निर्माण, कर्मचारी व्यवस्थापन, अस्पतालको सुन्दरता, विशेषज्ञ सेवा सहित बिरामी परीक्षण समयको विस्तार, सेवा सुविधा थप गर्ने, बिमाका बिरामीलाई धेरै भन्दा धेरै औषधि दिने, अन्य बिरामीलाई सहज रूपमा सुपथ मूल्यमा औषधि उपलब्ध गराउने लगायत अस्पतालको चौतर्फी विकासमा मेसु डा.पौडेलले जोड दिएका छन् । यसअघि अस्पतालको ३८ औँ र ४६ औँ मेसु बनिसकेका उनी अहिले अस्पतालको ४८ औँ मेसुको जिम्मेवारीमा तेस्रो कार्यकाल सञ्चालन गरिरहेका छन् ।
नेपालको मध्यभागमा अवस्थित यस भरतपुर केन्द्रीय अस्पतालमा चितवन जिल्लासहित नवलपरासी, गोरखा, धादिङ, मकवानपुर, वारा, तनहुँ, लमजुङ, रूपन्देहीसहितका २० भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् ।


