
काठमाडौं- मध्यपूर्व (पश्चिम एसिया) क्षेत्रमा चर्किँदै गएको द्वन्द्वको प्रभाव नेपालसम्म आइपुगेको छ। यसको प्रत्यक्ष असर देशको औषधि उत्पादन र आपूर्ति प्रणालीमा पर्न थालेको सरोकारवालाहरूले बताएका छन्।
नेपाल औषधि उत्पादक संघ (एप्पोन) का महासचिव सन्तोष बरालका अनुसार कच्चा पदार्थ र प्याकेजिङ सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढ्दा औषधि उद्योग दबाबमा परेको छ। औषधि उत्पादनदेखि प्याकेजिङसम्म पेट्रोलियमका उपउत्पादनमा उच्च निर्भरता हुने भएकाले आपूर्ति शृंखलामा समस्या आउँदा औषधि अभाव र मूल्यवृद्धिको जोखिम बढेको उनले बताए।
औषधि उद्योगका अनुसार धेरैजसो औषधिका कच्चा पदार्थ पेट्रोकेमिकलबाट तयार हुने गर्छन्। पेट्रोलियमको मूल्य बढेसँगै ती कच्चा पदार्थको लागत स्वतः बढ्ने र त्यसको सिधा प्रभाव औषधिको उत्पादन लागत तथा बजार मूल्यमा पर्ने गर्छ। क्याप्सुल, ट्याब्लेटको कोटिङ, सिरपमा प्रयोग हुने सोल्भेन्ट र मल्हममा प्रयोग हुने जेली जस्ता सामग्री पेट्रोलियमबाटै बन्ने भएकाले आपूर्ति घट्दा उत्पादनमै असर पर्ने उद्योगीहरूको भनाइ छ।
प्याकेजिङ क्षेत्रमा पनि समस्या थपिएको छ। औषधि राख्ने ब्लिस्टर प्याक, प्लास्टिक बोतल, सिरिन्जलगायत सामग्री पेट्रोकेमिकलमा आधारित भएकाले आपूर्ति अवरुद्ध हुँदा वितरण प्रणाली नै प्रभावित हुन सक्ने देखिएको छ।
नेपालले औषधिका कच्चा पदार्थ भारत, चीन, युरोप, अमेरिका र दक्षिण कोरियाबाट आयात गर्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य उतारचढावले नेपाली बजारमा सिधै प्रभाव पारेको महासचिव बरालले बताए। उनका अनुसार औषधि उत्पादनमा ४० प्रतिशतदेखि १०० प्रतिशतसम्म लागत वृद्धि भइसकेको छ।
‘पेट्रोलियमका उपउत्पादन औषधि निर्माणका लागि अनिवार्य हुन्छन्। स्लाइन बोतलका लागि आवश्यक प्लास्टिक दाना, बिर्को, पीभीसी, पीभीडीसीजस्ता सामग्री सबै पेट्रोलियममै आधारित हुन्छन्,’ बरालले भने, ‘यी सामग्रीको मूल्य बढ्दा औषधिको समग्र लागत ह्वात्तै बढेको छ।’
बरालका अनुसार कच्चा पदार्थको मूल्य अहिले दैनिक रूपमा परिवर्तन भइरहेको छ, जसले उद्योगीहरूलाई थप अन्योलमा पारेको छ। ‘पहिले दुई हप्तासम्म एउटै दर रहने कच्चा पदार्थ अहिले दिनहुँ फेरिन्छ। हिजो १०० पर्ने सामग्री भोलि १५० पुग्ने अवस्था छ,’ उनले भने।
उनले उत्पादन लागत २५ देखि ३० प्रतिशतसम्म बढिसकेको र पुरानै मूल्यमा औषधि उत्पादन गर्न कठिन भएको बताए। ‘कच्चा पदार्थ महँगो मात्र होइन, अभाव पनि हुन थालेको छ। यस्तो अवस्थामा तोकिएको मूल्यमा औषधि उपलब्ध गराउनै गाह्रो भएको छ,’ उनले भने।
विशेषगरी स्लाइनजस्ता ‘लार्ज भोल्युम’ औषधि र अत्यावश्यक औषधिहरूमा बढी असर पर्ने देखिएको छ। अहिले कच्चा पदार्थ आयातका लागि एलसी खोल्ने समय भएकाले यही बेला मूल्य अस्थिर हुँदा आगामी साउन–भदौमा उत्पादनमै ठूलो समस्या आउन सक्ने बरालको चेतावनी छ।
यता, नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यले हालसम्म बजारमा औषधि आपूर्तिमा ठूलो समस्या नदेखिएको बताएका छन्। तर पेट्रोलियम मूल्य वृद्धि र आपूर्ति अस्थिरताका कारण केही कच्चा पदार्थ महँगिएको सूचना आएको उनले बताए।
‘औषधि उत्पादकहरूले लागत बढेको जानकारी दिएका छन्। कच्चा पदार्थ र ढुवानी खर्च बढ्दा औषधिको मूल्यमा सामान्य वृद्धि हुन सक्छ,’ आचार्यले भने। संघले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आयातकर्ताहरूलाई बढी स्टक राख्न सुझाव दिएको छ।
नेपालको औषधि बजारमा स्वदेशी र आयातित औषधिको हिस्सा लगभग बराबर भए पनि जीवनरक्षक औषधिमा आयातमा उच्च निर्भरता रहेको छ। भ्याक्सिन, इन्सुलिन र सघन उपचारमा प्रयोग हुने औषधिमा करिब ८० प्रतिशत आयातमै निर्भर रहेको आचार्यले जानकारी दिए।
हाल नेपाली बजारमा औषधिको औसत स्टक ४ देखि ५ महिनासम्मको रहेको अनुमान गरिएको छ। वार्षिक रूपमा नेपालले करिब ६० देखि ६५ अर्ब रुपैयाँ बराबरको औषधि आयात गर्ने गरेको छ भने करिब त्यति नै मूल्य बराबरको औषधि स्वदेशमै उत्पादन हुन्छ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालका अनुसार मध्यपूर्व द्वन्द्वका कारण उत्पादक र आयातकर्ताबाट असर परेको गुनासो आएको छ। ‘ढुवानी र कच्चा पदार्थको मूल्य बढ्दा तोकिएको मूल्यमा औषधि उत्पादन गर्न नसकिने उहाँहरूको भनाइ छ,’ उनले भने, ‘कुन औषधिमा कति असर परेको छ भन्ने विवरण ल्याउन भनेका छौं।’
मंगलबार औषधिमा परेको प्रभावबारे आयातकर्ता र उत्पादकबीच औषधि व्यवस्था विभागमा छलफलसमेत भएको थियो। अवस्था लम्बिएमा आगामी दिनमा औषधि आपूर्ति र मूल्य दुवै चुनौतीपूर्ण बन्न सक्ने संकेत देखिएको छ।



