

काठमाडौँ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति प्राडा सङ्गीता सिंह भण्डारीसहित १३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा सुनुवाइका लागि विशेष अदालतले पेसी तोकेको छ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइराला को संयुक्त इजलासमा उक्त मुद्दा पेश हुने तय भएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले गत असोज २३ गते उपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध एमआरआई मेसिन खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्षसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
मुद्दामा उपकुलपति प्राडा सङ्गीता सिंह भण्डारी, तत्कालीन कार्यवाहक रजिस्ट्रार झन्कार लामिछाने, फाइनान्स म्यानेजर कैलाश प्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी र अमित कुमार चौधरी, डेपुटी फाइनान्स म्यानेजर नितिन कुर्मी, शाखा अधिकृतद्वय छायाँ डिसी र श्रीराम चौधरी, आईटी अफिसर हिरालाल भण्डारी, सिभिल इन्जिनियर मदन भण्डारी तथा वरिष्ठ सहायक अन्जु शर्मा प्रतिवादी छन्।
त्यसैगरी, स्वास्थ्य सेवा विभागकी तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई, आपूर्तिकर्ता कम्पनी लुम्बिनी हेल्थकेयर प्रालि र कम्पनीका अध्यक्ष पोस्ट राज ज्ञवालीलाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ।
आयोगले सबै प्रतिवादीबाट कुल १२ करोड ७ लाख ६० हजार ९४६ रुपैयाँ बिगो कायम गरी सजायको माग दाबी गरेको छ। साथै, हालसम्म भुक्तानी भइसकेको ९ करोड ३४ लाख २६ हजार ६१९ रुपैयाँ असुलउपर गर्न समेत माग गरिएको छ।
अख्तियारको अनुसन्धानअनुसार कम गुणस्तरको एमआरआई मेसिन खरिद गरी प्रतिष्ठानका पदाधिकारी र आपूर्तिकर्ताबीच मिलेमतोमा आर्थिक अनियमितता गरिएको निष्कर्ष निकालिएको छ।
यस्तै, खरिद गुरुयोजना तथा वास्तविक आवश्यकता पहिचान नगरी बजेट माग गरिएको र सार्वजनिक खरिद ऐनविपरीत निश्चित कम्पनीलाई लाभ पुग्ने गरी प्राविधिक स्पेसिफिकेसन तयार पारिएको पनि अख्तियारको ठहर छ।


