

भावनगर, गुजरात – शारीरिक उचाइ सानो भए पनि गणेश बारिया भारतका सबैभन्दा सानो कद भएका डाक्टर हुन्।
भावनगरस्थित सर तख्तासिंह अस्पतालको ट्रमा सेन्टरमा ३ फिट उचाइ भएका गणेश बरैयाले स्टेथोस्कोप लगाएर बिरामीको परीक्षण गरिरहेको देख्दा सबै चकित भएका छन्। ७२ प्रतिशत शारीरिक दिव्यांगता भएका गणेशले धेरै सामाजिक रूढिवादी सोच र शारीरिक सीमालाई चुनौती दिँदै मेडिकल क्षेत्रमा सफलता हासिल गरेका हुन्।
गणेश गोरखी गाउँमा किसान परिवारमा जन्मेका थिए र आफ्नो ९ दाजुभाइ–बहिनीमध्ये ८ औं थिए। उनी परिवारका एक मात्र व्यक्ति हुन्, जो ‘ड्वार्फिज्म’ अर्थात् पुड्काेपन पीडित छन्।
बाल्यकालमा हुँदा सर्कसका मानिसहरूले उनलाई पाँच लाख रुपैयाँमा किन्ने प्रस्ताव दिएका थिए, तर उनका बुवाले त्यसलाई अस्वीकार गर्दै पढाइमा लगाए। गणेशका बुवाले उनका छोरा दयाको पात्र नबनी सम्मानका साथ जिउनुपर्ने ठाने।
गणेशले २०१८ मा अपांग कोटा अन्तर्गत नीट परीक्षा पास गरे। तर मेडिकल काउन्सिलले उनलाई एमबीबीएसमा प्रवेश दिन अस्वीकार गर्यो। निराश भए पनि उनले अदालतको सहारा लिए र अन्ततः सुप्रीम कोर्टले उनकाे हकमा फैसला सुनायाे। २०१९ मा भावनगरको मेडिकल कलेजबाट उनले एमबीबीएस अध्ययन पूरा गरे।
पढाइको क्रममा गणेशले लेख्ने गति कम हुने चुनौतीको सामना गरे। यसका बाबजुद शिक्षक, सीनियर र सहपाठीहरूको सहयोग पाए। परीक्षा समयमा अतिरिक्त समय र सहायकको व्यवस्था पाएर उनले सबै सेमेस्टर पास गरे र डाक्टर बन्ने आफ्नो सपना पूरा गरे।
आज डा. गणेश बारिया भावनगरको सर टी जनरल अस्पतालमा मेडिकल अफिसरको रूपमा कार्यरत छन्। उनी आफ्नो भविष्यमा नन–सर्जिकल क्षेत्रमा पोस्टग्रेजुएशन गर्ने योजना बनाइरहेका छन्।


