

मुगु- मुगु जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने खत्याड गाउँपालिका–९ नर्खजी गाउँमा केही दिनयता फैलिएको भाइरल ज्वरोका कारण चार सयभन्दा बढी स्थानीय बिरामी परेका छन्। ज्वरोको प्रकोपबाट बालबालिका, महिला तथा वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन्।
स्थानीय खेम रोकायाका अनुसार फागुन ७ गतेदेखि सुरु भएको ज्वरो नर्खजी गाउँका चारवटा बस्तीमा तीव्र रूपमा फैलिएको हो। ज्वरो बढ्दै गएपछि नर्खजीस्थित स्वास्थ्य संस्थामा जनशक्ति र औषधिको गम्भीर अभाव देखिएको छ। उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रातापानी बाट डाक्टरसहितको टोली गाउँ पुगे पनि रोग नियन्त्रणमा आउन सकेको छैन।
उपचारमा खटिएको टोली फागुन १२ गते गाउँबाट फर्किसकेको छ भने हाल एक जना स्वास्थ्यकर्मी मात्र बिरामीको उपचारमा सक्रिय छन्। नर्खजी स्वास्थ्य चौकीका इन्चार्ज अमर बिकका अनुसार दैनिक २० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। “गाउँपालिकालाई जानकारी गराइसकेका छौं। औषधि पठाइए पनि बिरामीको चापका कारण सकिएको छ,” उनले भने, “स्वास्थ्य चौकीमा अहिले १० पत्ता सिटामोल मात्र बाँकी छ। म आफैं र एक जना स्वास्थ्यकर्मीले दर्तादेखि परीक्षणसम्म सबै काम गर्नुपर्दा समयमै सेवा दिन कठिन भएको छ।”
प्राथमिक स्वास्थ्य केन्द्र रातापानीका डाक्टर विकास धितालले नर्खजी गाउँ पुगेर करिब ३ सय बिरामीको परीक्षण गरिएको जानकारी दिए। उनका अनुसार ज्वरोका कारण बालबालिकादेखि वृद्धवृद्धासम्म प्रभावित भएका छन् र औषधिको अभाव देखिएको छ। साथै करिब ५० जनालाई खोपसमेत लगाइएको उनले बताए।
आफू पनि ज्वरोबाट प्रभावित भएपछि दुई दिनअघि टोली फर्किनुपरेको उल्लेख गर्दै डा. धितालले समयमै औषधि र जनशक्ति व्यवस्थापन नभए अवस्था जटिल बन्न सक्ने चेतावनी दिए। विशेषगरी दीर्घरोगी बिरामीका लागि जोखिम बढ्न सक्ने उनको भनाइ छ। स्वास्थ्यकर्मीहरूका अनुसार ज्वरो नर्खजी गाउँमै सीमित नरही छिमेकी बस्तीहरूमा समेत फैलिने खतरा रहेको छ।
उता, गाउँमा ज्वरोको प्रकोप बढिरहेका बेला फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलका उम्मेदवारहरू शिक्षा र स्वास्थ्यका नारा लिएर गाउँ पुगेका छन्। तर औषधि र जनशक्ति अभाव समाधानका लागि ठोस पहल नभएको स्थानीय गोपाल शाहीले गुनासो गरे।
यस विषयमा जिल्ला अस्पताल मुगु का प्रमुख डा. निर्मल नगरकोटी ले गाउँपालिकाबाट औपचारिक माग आएपछि उपलब्ध औषधि पठाउन सकिने बताए। भाइरल ज्वरो फैलिएको क्षेत्र नजिकै रातापानी प्राथमिक स्वास्थ्य केन्द्र रहेकाले त्यहीँबाट टोली परिचालन गरिएको उनले जानकारी दिए।



