नवलपरासी- पश्चिम नवलपरासीमा पाँच वर्ष मुनिका बालबालिकामा कुपोषणको अवस्था चिन्ताजनक देखिएको छ। स्थानीय तहसँगको समन्वयमा हेलन केलर इन्टरनेशनलले बेस नेपालमार्फत सञ्चालन गरेको ‘पोषणमार्फत जीवन रूपान्तरण’ परियोजनाअन्तर्गत गरिएको पोषण लेखाजोखामा उल्लेखनीय संख्यामा बालबालिका कुपोषित भेटिएका हुन्।
जिल्लाका सातै स्थानीय तहमा भइरहेको पोषण लेखाजोखाअनुसार हालसम्म १३ हजार २२६ जना बालबालिकाको जाँच गर्दा १५ प्रतिशतमा कुपोषणको समस्या देखिएको छ। जसमध्ये १३ दशमलव ७ प्रतिशत अर्थात एक हजार ८१६ जना बालबालिकामा मध्यम खालको कुपोषण र एक दशमलव तीन प्रतिशत अर्थात १७२ जनामा कडा खालको कुपोषण पुष्टि भएको छ।
जिल्लामा ६ महिनादेखि ५९ महिनासम्मका कुल २२ हजार ६३६ जना बालबालिकाको पोषण अवस्था मूल्याङ्कन गर्ने लक्ष्य लिइएको छ। बेस नेपालका कार्यक्रम संयोजक शालिकराम पोखरेलका अनुसार थप एक महिनाभित्र सबै बालबालिकाको पोषण जाँच सक्ने लक्ष्य राखिएको छ।
मध्यम कुपोषण भएका बालबालिकालाई स्वास्थ्य संस्थामार्फत उपचारात्मक खाना ‘सुपरसिरियल प्लस’ खुवाउन थालिएको छ भने कडा कुपोषणमा रहेका बालबालिकालाई नेपाल सरकारबाट प्राप्त ‘आ.यु.टि.एफ.’ उपलब्ध गराइएको छ। साथै कुपोषित बालबालिकाका घरघरमा पुगेर उपचारात्मक खाना नियमित खुवाइएको वा नखुवाइएको, स्वास्थ्य सुधारको अवस्था, सरसफाइ र खानपानसम्बन्धी परामर्शसमेत दिइँदै आएको संयोजक पोखरेलले जानकारी दिए।
सङ्ख्यात्मक रूपमा रामग्राम र सुनवलमा धेरै कुपोषित बालबालिका भेटिए पनि अनुपातका हिसाबले सरावल सबैभन्दा अगाडि देखिएको छ। सरावलमा १ हजार ४३० जना बालबालिकाको जाँच गर्दा २१ जनामा कडा र २७६ जनामा मध्यम खालको कुपोषण फेला परेको छ।
स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अगंदबहादुर शाहीले कडा कुपोषण भएका बालबालिकामा मृत्यु, दीर्घकालीन रोग तथा शारीरिक र मानसिक विकासमा गम्भीर असर पर्ने जोखिम अत्यन्त उच्च हुने बताए। उनका अनुसार मध्यम कुपोषणको दर १० प्रतिशतभन्दा माथि हुनु नै चिन्ताजनक मानिन्छ। हालसम्म जिल्लामा १३.७ प्रतिशत बालबालिकामा मध्यम कुपोषण देखिनु गम्भीर अवस्था भएको उनको भनाइ छ। समयमै पहिचान र उपचार नगरे मध्यम कुपोषण कडा कुपोषणतर्फ जाने जोखिम उच्च हुने उनले चेतावनी दिए।







