

बैतडी- माघ २३ गते बैतडीको पुर्चौडी–७ मा भएको बस दुर्घटनामा १३ जनाको ज्यान गएको थियो भने ४५ जना घाइते भएका थिए। घाइतेमध्ये १४ जनाको हाल पनि धनगढीमा उपचार भइरहेको छ। दुर्घटनामा ज्यान गुमाएका १३ जनामध्ये पाँच जनाको डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। घटनास्थलबाट घाइतेलाई अस्पताल पुर्याउन झण्डै पाँच घण्टा लागेको थियो।
यदि बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा निर्माण भएको ट्रमा युनिट सञ्चालनमा आएको भए दुर्घटनाका घाइतेको प्राथमिक उपचार त्यहीँ सम्भव हुने थियो। तर पाँच वर्षअघि निर्माण भएको उक्त ट्रमा युनिट हालसम्म प्रयोगविहीन छ।
सङ्घीय सरकारले ट्रमा सेवा सञ्चालन कार्यविधि, २०७७ अनुसार ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो भने पाटन नगरपालिकाले थप १० लाख रुपैयाँ लगानी गरी ट्रमा युनिट भवन निर्माण गरेको थियो। २०७८ मै भौतिक संरचना तयार भए पनि जनशक्ति र उपकरणको अभावका कारण सञ्चालनमा आउन नसकेको नगरपालिकाले जनाएको छ।
ट्रमा युनिटमा १५ शय्या, एक्सरे कक्ष, स्टाफ कक्षलगायत संरचना तयार भए पनि प्रदेश सरकारले आवश्यक जनशक्ति र उपकरणको व्यवस्था नगरेको स्थानीय जनप्रतिनिधिको गुनासो छ। गत वर्ष मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइए पनि हालसम्म कुनै ठोस पहल नहुँदा ट्रमा युनिट प्रयोगविहीन बनेको हो।
स्थानीयवासीका अनुसार खोड्पेमा ट्रमा युनिट सञ्चालनमा आएको भए पुर्चौडी बस दुर्घटनामा ज्यान गुमाउने केहीलाई बचाउन सकिन्थ्यो।


