
बागमती – इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका मुख्यमन्त्री, बुधबार साँझ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालको अनुगमन गरेका थिए। अनुगमनको क्रममा ड्युटी समयमा अस्पतालमा डाक्टर र कर्मचारी अनुपस्थित भेटिए।
घटना प्रकाशमा आएपछि बिहीबार मुख्यमन्त्रीको कार्यालयमा मन्त्रालयकी सचिव डा. सुमित्रा गौतम, प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, रजिष्ट्रार तथा अस्पताल अध्यक्ष भीमसागर गुरागाईं, र निमित्त निर्देशक डा. हरिबहादुर खड्कालाई बोलाएर छलफल गरिएको थियो।
मुख्यमन्त्री बानियाँले ड्युटी समयमा अनुपस्थित डाक्टर र कर्मचारीलाई सचेत गराउँदै तत्काल सुधार गर्न निर्देशन दिएका छन्। उनले चेतावनी दिँदै भने, “यदि सुधार नगरेमा प्रदेश सरकारले गैरजिम्मेवार कर्मचारी, डाक्टर र अस्पताल प्रशासनमाथि कारबाही गर्नेछ।”
साथै मुख्यमन्त्रीले बिदामा बसेका कर्मचारीले पनि एक दिनअघि जानकारी दिनुपर्ने, ड्युटी मिलान गर्दा बिरामीको सेवा प्रभावित नहोस् भन्ने व्यवस्था गर्ने, ड्युटी समयमा अनिवार्यरूपमा ड्रेस लगाउने र अस्पतालभित्र सरसफाइमा ध्यान दिने अनुरोध पनि गरेका छन्।


