
काठमाडाैं- हरेक मानिसको शरीरमा कुनै न कुनै प्रकारको रङ हुन्छ। शरीरको रङ कसरी बन्छ भन्ने विषय धेरैका लागि कौतुहलको विषय हुन सक्छ। आमाको गर्भमै हुँदा शरीरमा मेलानोसाइट नामक विशेष कोषहरू बन्छन्, जसले मेलानिन नामक रासायनिक तत्व उत्पादन गर्छन्। यही मेलानिनले छाला, कपाल र आँखालाई रङ दिने काम गर्छ।
शरीरमा मेलानिन बढी भए छाला कालो देखिन्छ भने कम भए गोरो देखिन्छ। नेपालीहरूको छाला प्रायः मध्यम खालको हुन्छ, जसलाई सामान्यतया गहुँगोरो छाला भनिन्छ।
कुनै–कुनै अवस्थामा छालामा रङको मात्रा असामान्य रूपमा घट्न वा बढ्न सक्छ। रङ बढी भए कालो दाग देखिन्छ भने रङ अत्यन्तै कम भए सेतो दाग देखिन्छ, जसलाई बोलीचालीमा सेतो दुबी भनिन्छ। विश्व तथ्याङ्कअनुसार ०.५ देखि २ प्रतिशत मानिसमा सेतो दुबी देखिने गरेको छ। नेपालमा पनि यसको संख्या दिनानुदिन बढ्दो क्रममा रहेको चिकित्सकहरू बताउँछन्।
के हो सेतो दुबी ?
सेतो दुबी छालामा देखिने एक प्रकारको अवस्था हो, जहाँ छालालाई रङ दिने मेलानोसाइट कोषहरू नष्ट हुन्छन् वा निष्क्रिय हुन्छन्। मानिसको शरीरमा रोगसँग लड्ने क्षमता (इम्युनिटी) हुन्छ, तर कहिलेकाहीँ यही क्षमता असन्तुलित भएर आफ्नै शरीरविरुद्ध काम गर्न थाल्छ र छालालाई रङ दिने कोषहरू नष्ट गर्छ।
सेतो दुबी जुनसुकै उमेरमा पनि देखिन सक्छ। तर प्रायः १० देखि २० वर्ष र ४० देखि ५० वर्ष उमेर समूहमा यसको सम्भावना बढी देखिन्छ। चिकित्सकीय दृष्टिले सेतो दुबीलाई रोग मानिँदैन। यसले दुख्दैन, पोल्दैन र ज्यानलाई खतरा पनि हुँदैन। तर सामाजिक दृष्टिले ‘अरूले के भन्लान् ?’ भन्ने मानसिक चिन्ता भने धेरैलाई हुन्छ।
अमेरिका र युरोपजस्ता देशहरूमा सेतो दुबीलाई रोग नमानेर उपचारसमेत नगरिने गरिएको छ, किनभने उपचार नगर्दा पनि स्वास्थ्यमा कुनै नकारात्मक असर पर्दैन।
कुन अंगमा बढी देखिन्छ ?
सेतो दुबी १० देखि ३० प्रतिशतसम्म वंशाणुगत हुन सक्छ। यो समस्या प्रायः शरीरका धेरै चलायमान भागहरूमा देखिन्छ, जस्तै आँखा वरिपरि, ओठ, कम्मर, कुइना र घुँडा। यो अरूलाई सर्ने रोग होइन, तर आफ्नै शरीरका अन्य भागमा फैलिन सक्छ।
सेतो दुबी भए के गर्ने ?
सेतो दुबी भएका व्यक्तिले चोटपटक लाग्ने खालका कामबाट जोगिनु आवश्यक हुन्छ। अत्यन्तै टाइट कपडा र टाइट जुत्ता लगाउनु हुँदैन। नरम खालको घाम सेतो दुबीका लागि फाइदाजनक मानिन्छ। विशेष गरी बिहान ८ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्मको घाम उपयोगी हुन्छ। तर मध्याह्न १२ देखि २ बजेसम्मको कडा घामले छालामा नकारात्मक असर पार्न सक्छ।
खानपानको हिसाबले सेतो दुबी भएका व्यक्तिले जाँड, रक्सी र चुरोट बाहेक अन्य सामान्य खानेकुरा खान सक्ने चिकित्सकहरू बताउँछन्।
के सेतो दुबीको उपचार हुन्छ ?
सेतो दुबीको उपचार मुख्यतः दुई प्रकारको हुन्छ। पहिलो, औषधि प्रयोग गरी घाम देखाउने उपचार विधि हो। दोस्रो, विशेष मेसिनबाट छालामा प्रकाश दिने फोटोथेरापी विधि हो। यो उपचार यति सुरक्षित मानिन्छ कि गर्भवती महिला र नवजात शिशुलाई पनि दिन सकिन्छ।
यदि यी विधिबाट पनि सुधार नआएमा अन्तिम विकल्पका रूपमा शल्यक्रिया गर्नुपर्ने अवस्था आउन सक्छ।


