

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदका लागि आर्थिक सहयोग गर्ने भएको छ ।
महानगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत कीर्तिपुर अस्पतालका लागि आवश्यक स्वास्थ्य उपकरण खरिद गर्न सम्झौता भएको हो । सम्झौतामा काठमाडौँ महानगरपालिकाका तर्फबाट स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसी र कीर्तिपुर अस्पतालका तर्फबाट अध्यक्ष भरतकुमार प्रधान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमअनुसार मेडिकल उपकरण खरिदका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सम्झौताअनुसार अस्पतालले सार्वजनिक खरिद प्रक्रियामार्फत एक थान एनेस्थेसिया मेसिन, २५० केभीएको एक थान जेनेरेटर तथा ५०० एमए क्षमताको एक थान डिजिटल एक्स–रे मेसिन खरिद गर्नेछ ।
महानगरवासी तथा कीर्तिपुर अस्पतालमा उपचारका लागि आउने बिरामीलाई सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग गरिएको महानगरपालिकाले जनाएको छ ।
विशेषगरी जलन उपचारसहित अस्पतालले प्रदान गर्दै आएको सेवाको क्षमता विस्तार गर्न यो अनुदान महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ । अस्पताल पक्षले जलनका बिरामीको उपचार जटिल हुने भएकाले महानगरपालिकाको सहयोगले सेवा प्रवाह अझ प्रभावकारी र सहज हुने जनाएको छ ।



