

रुपन्देही- निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको तथ्य फेला परेको छ ।
जिल्लाको भैरहवा तथा बुटवलका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको गुनासो आउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । स्थानीय तहबाट स्वीकृत प्राप्त १० देखि १५ शय्यासम्मको अस्पतालले मापदण्ड विपरीत गर्ने गरेको पाइएको हो ।
मापदण्डअनुसार स्थानीय तहबाट स्वीकृत प्राप्त अस्पतालहरुले आधारभूत स्वास्थ्य सेवा, सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, सामान्य स्त्री तथा प्रसूति सेवा, सामान्य बालरोग सेवा र सामान्य दन्त सेवा मात्र सञ्चालन गर्न पाउँछन् ।
तर ती अस्पतालले मापदण्ड विपरीत सञ्चार माध्यममा विज्ञापन नै प्रकाशन प्रसारण गरेर जटिल प्रकारका हाडजोर्नी, मेरुदण्डको शल्यक्रियाबाट प्रसूति गराउने, पत्थरी, पित्तथैली, मिर्गाैलाको पत्थरीको शल्यक्रिया, एपिण्डिसाइटिसको शल्यक्रिया, जटिल प्रकारका पेटको शल्यक्रिया गर्ने गरेका छन् ।
मापदण्ड विपरीत सञ्चालित यी अस्पतालका कारण धेरै बिरामीको स्वास्थ्य उच्च जोखिममा पर्ने गरेको जनस्वास्थ्य विज्ञहरुको भनाइ छ । यस्ता अस्पतालमा प्राय विशेषज्ञ चिकित्सक नहुने, दक्ष जनशक्ति नहुने, विशेषज्ञले पर्याप्त समय नदिने, आवश्यक औजार उपकरण नहुने र बिरामीको अवस्था गम्भीर हुन पुगे राख्ने आइसियु नहुने भएकाले बिरामीको अवस्था जोखिममा पर्ने गरेको हो ।
अस्पतालमा मापदण्डअनुसार हुनुपर्ने एम्बुलेन्स सेवा नहुने, अस्पतालमा विद्युतीय ब्याकअप स्ट्याबलाइजर, ट्रान्स्फर्मर नहुने गरेको अनुगमनमा पाइएको छ । सरकारले बनाएको मापदण्डअनुसार त्यस्ता अस्पतालमा विद्युत्को वैकल्पिक रुपमा दुई वटा जेनेरेटर हुनुपर्ने भए पनि यहाँका स्थानीय तहमा सञ्चालित धेरै अस्पतालमा जेनेरेटर नभएको गुनासो सुनिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।



