

काठमाडौँ – विश्व क्यान्सर दिवसको अवसरमा चिकित्सकहरूले क्यान्सर अब ठूलाे रोग नभएको स्पष्ट गर्दै समयमै पहिचान, उपचार र सामूहिक साथ–सहयोगबाट अधिकांश क्यान्सर रोगीलाई बचाउन सकिने बताएका छन्। ‘विशेषतामा एकता’ भन्ने मूल नाराका साथ यस वर्ष विश्व क्यान्सर दिवस मनाइँदै गर्दा चिकित्सकहरूले जनचेतना अभिवृद्धि नै क्यान्सरविरुद्धको सबैभन्दा ठूलो हतियार भएकोमा जोड दिएका छन्।
नेपाल क्यान्सर अस्पतालका चिकित्सक डा. सुदीप श्रेष्ठले विश्व क्यान्सर दिवस जनचेतना फैलाउने उद्देश्यले मनाइने बताउँदै क्यान्सर पीडित एक्लो नभएको सन्देश दिन यो दिवस महत्वपूर्ण रहेको बताए। उनका अनुसार अहिले क्यान्सरको उपचार नेपालमै सम्भव भइसकेको छ। ‘हामी देशका विभिन्न ठाउँमा पुगेर जनचेतना फैलाइरहेका छौं। क्यान्सर पीडित एक्लै होइनन्, हामी छौं भन्ने भरोसा दिलाइरहेका छौं,’ उनले भने, ‘सही समयमा उपचार पाए करिब ५० प्रतिशत क्यान्सर पीडितलाई बचाउन सकिन्छ।’
क्यान्सर रोग विशेषज्ञ तथा नेपाल क्यान्सर एण्ड रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर डा. विजेश राज घिमिरेले विश्वभर क्यान्सरको जोखिम तीव्र रूपमा बढ्दै गएको बताए। उनका अनुसार हाल विश्वमा हरेक वर्ष करिब दुई करोड मानिसलाई क्यान्सर देखिन्छ भने आगामी १५ वर्षमा यो संख्या चार करोडसम्म पुग्न सक्ने अनुमान छ।
डा. घिमिरेले नेपालमा पनि क्यान्सरको उपचार सम्भव रहेको उल्लेख गर्दै पुरुष र महिलामा देखिने प्रमुख क्यान्सरका प्रकारबारे जानकारी दिए। उनका अनुसार नेपालमा पुरुषमा सुर्तीजन्य पदार्थको प्रयोगका कारण फोक्सो, पेट र लिम्फो क्यान्सर बढी देखिन्छ भने महिलामा स्तन, पाठेघरको मुख तथा फोक्सोको क्यान्सर प्रमुख छन्। ‘क्यान्सर टाउकोदेखि खुट्टासम्म जुनसुकै अंगमा हुन सक्छ। कुनै अंगमा लामो समयसम्म संक्रमण वा समस्या देखिएमा त्यसलाई वेवास्ता नगरी समयमै जाँच गराउनुपर्छ,’ उनले भने।
उनका अनुसार क्यान्सरलाई अहिले दीर्घरोगको रूपमा विश्लेषण गर्न थालिएको छ। पहिलो र दोस्रो चरणमा क्यान्सर पूर्ण रूपमा निको हुन सक्छ भने तेस्रो चरणमा निको हुन पनि सक्छ वा पुनः बल्झिन सक्छ। चौथो चरणका क्यान्सर पीडितलाई पनि लामो समयसम्म बाँच्न सक्ने अवस्थामा पुर्याउन सकिने उनले बताए। क्यान्सर नलागोस् भन्नका लागि दैनिक खानपान र जीवनशैलीमा विशेष सावधानी अपनाउनुपर्ने उनको सुझाव छ।
नेपाल क्यान्सर अस्पतालका सर्जिकल अंकोलोजिस्ट डा. कपिन्द्रशेखर अमात्यले हरेक बिरामीको क्यान्सरको कथा फरक हुने भए पनि प्रारम्भिक चरणमै रोग पहिचान गर्न सके क्यान्सरलाई परास्त गर्न सकिने बताए।
‘समयमै पहिचान भयो भने क्यान्सर जित्न सकिन्छ,’ उनले भने।
चिकित्सकहरूले क्यान्सर भइहाले पनि नआत्तिन, उपलब्ध उपचार प्रविधिमा भरोसा राख्न र समयमै उपचारको बाटो रोज्न सबैलाई आग्रह गरेका छन्।



