

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा उपेक्षित उष्णप्रदेशीय रोग (नेग्लेक्टेड ट्रपिकल डिजिज–एनटीडी) चुनौतीका रूपमा देखा पर्दै गएको छ । पर्याप्त सरसफाइको अभाव, रोगबाहक कीटाणु, जनावरसँगको प्रत्यक्ष सम्पर्क र गरिबीका कारण यी रोगको संक्रमण प्रदेशका विभिन्न जिल्लामा बढ्दो क्रममा रहेको छ ।
उपेक्षित उष्णप्रदेशीय रोग विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवी, ढुसी तथा विषाक्त पदार्थका कारण लाग्ने गर्दछ । विश्वमा व्याप्त २१ प्रकारका रोगको समूहलाई उपेक्षित उष्णप्रदेशीय रोगको श्रेणीमा राखिएको छ । तीमध्ये नेपालमा हाल ११ प्रकारका रोग देखापर्ने गरेका छन् ।
त्यसमा डेंगु, रेबिज, कुष्ठरोग, ट्रकोमा, माटोबाट सर्ने जुकाको संक्रमण, सर्पदंश, लुतो, हात्तीपाइले, फित्तेजुका, कालाजार, माइसेटोमा, क्रोमाब्लास्टोमाइकोसिस तथा अन्य डिप माइकोसेस समावेश छन् । प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीका उपेक्षित उष्णप्रदेशीय रोग स्रोत व्यक्ति हेमराज जोशीका अनुसार यी रोगले विश्वव्यापी रूपमा एक अर्बभन्दा बढी व्यक्तिलाई असर गरिरहेको तथ्यांक छ ।
“सुदूरपश्चिम प्रदेशमा पनि यी रोगको संक्रमण क्रमशः बढ्दै गएको छ”, उनले भने, “मुख्यतः सरसफाइको कमी, रोगबाहक कीटाणु, घरपालुवा जनावर तथा पशुसँग प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति बढी जोखिममा पर्ने गरेका छन् ।”
उनका अनुसार गरिबीको रेखामुनि रहेका समुदाय यी रोगबाट सबैभन्दा बढी प्रभावित देखिएका छन् । रोगका कारण उनीरू थप आर्थिक संकटमा पर्ने र गरिबीको चक्रमा फस्ने अवस्था सिर्जना भइरहेको छ । साथै यी रोग अझै पनि समुदायमा सामाजिक बहिष्करणसँग जोडिने गरेको पाइएको जोशीको भनाइ छ ।



