

काठमाडौं– नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई अनावश्यक रूपमा बिरामी रिफर नगर्न कडा निर्देशन दिएको छ।
बोर्डको नीति, योजना तथा अनुगमन शाखाले जारी गरेको पत्रमा भनिएको छ कि आफ्नै संस्थामा सेवा उपलब्ध हुँदाहुँदै पनि बिरामीलाई अन्यत्र पठाइने अभ्यास भेटिएको हुँदा यसलाई तुरुन्त रोक्न आग्रह गरिएको छ।
पत्रमा स्पष्ट रूपमा उल्लेख छ कि स्वास्थ्य बीमा ऐन २०७५, नियमावली २०७५ र प्रेषण कार्यविधि २०८० विपरीत अनावश्यक रिफर गर्ने संस्थामाथि आवश्यक कारबाही गरिनेछ।
पत्र अनुसार, ‘सेवा प्रदायक स्वास्थ्य संस्थाले आफ्नै संस्थामा उपलब्ध सेवा उपेक्षा गरी अन्यत्र बिरामी पठाउनु स्वास्थ्य बीमा प्रणालीको मर्म विपरीत हो। यसले बीमित सेवाग्राहीलाई अनावश्यक दुःख, खर्च र झन्झट निम्त्याउँछ।’
स्वास्थ्य बीमा बोर्डले आफ्नै संस्थामा सेवा उपलब्ध भएमा त्यहीँ गुणस्तरीय र समयमै सेवा उपलब्ध गराउन, रिफर आवश्यक परेमा नजिकको स्वास्थ्य संस्थामा मात्र पठाउन आग्रह गरेको छ।
अनावश्यक रिफर पाइएमा दाबी मूल्यांकन र भुक्तानी रोकिने, साथै सम्झौता स्थगन वा खारेजसम्मको कारबाही हुन सक्ने चेतावनी समेत दिइएको छ।
वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवन कुमार साहको हस्ताक्षरसहित जारी पत्रमा सूचना प्रविधि शाखालाई बोर्डको वेबसाइटमा प्रकाशन गर्न निर्देशन पनि दिइएको छ।
यस कदमले स्वास्थ्य बीमा सेवामा अनुशासन कायम राख्न र सेवाग्राहीलाई सहज तथा प्रभावकारी सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।



