

काठमाडौं – छिमेकी मुलुक भारतको पश्चिम बङ्गाल राज्यमा मानिसमा निपा भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा पनि उच्च सतर्कता अपनाउन थालिएको सरकारी अधिकारीहरूले बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड–१९ महामारीका बेला स्थापना गरिएका नेपाल–भारत स्थलसीमाका प्रवेशबिन्दु तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका स्वास्थ्य जाँच एकाइमार्फत हाल निगरानी भइरहेको छ। मन्त्रालयका प्रवक्ताले बीबीसीसँग नेपालले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाइरहेको जानकारी दिएका छन्।
भारतीय अधिकारीहरूका अनुसार गत महिना पश्चिम बङ्गालमा निपा भाइरस सङ्क्रमण पुष्टि भएका दुई स्वास्थ्यकर्मीको सम्पर्कमा आएका झन्डै २०० जनाको पहिचान गरी निगरानी गरिएको थियो। ती व्यक्तिहरूमा हालसम्म भाइरस सङ्क्रमण पुष्टि नभएको भारतीय पक्षले जनाएको छ।
भारतीय निकायहरूले नेपाललाई निपा भाइरसको अवस्थाबारे नियमित रूपमा ताजा जानकारी उपलब्ध गराउँदै आएको र नेपालले पनि सीमामा सतर्कता कायम राख्न सहयोग गर्न अनुरोध गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
नेपाली अधिकारीहरूले सर्वसाधारण नागरिकलाई पनि आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। उनीहरूका अनुसार हालसम्म नेपालमा निपा भाइरसबाट सङ्क्रमित वा शङ्कास्पद लक्षण भएका कुनै व्यक्ति फेला परेका छैनन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार जनस्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सूचना आदान–प्रदान प्रणालीमार्फत भारतले पश्चिम बङ्गालमा दुई स्वास्थ्यकर्मीमा निपा भाइरस सङ्क्रमण पुष्टि भएको जानकारी नेपाललाई दिएको थियो। त्यसलगत्तै नेपालले आफ्नो तर्फबाट निगरानी प्रक्रिया अघि बढाएको उनले बताए।
‘अन्तर्राष्ट्रिय स्वास्थ्य नियमानुसार यस्ता घटनाबारे रिपोर्टिङ गर्नुपर्छ। भारतले दुई स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको र त्यसपछि अन्य स्थान वा व्यक्तिमा फैलिन नदिन नियन्त्रणमा रहेको उल्लेख गरेको छ,’ डा. बुढाथोकीले भने।
उनका अनुसार सङ्क्रमित व्यक्तिहरूसँग सम्पर्कमा आएका सबैलाई क्वारेन्टिनमा राखेर परीक्षण गरिएको भए पनि हालसम्म कसैमा सङ्क्रमण पुष्टि भएको छैन।
भारतको प्रेस ब्यूरो अफ इन्फर्मेशनले सङ्क्रमणसँग सम्बन्धित १९६ जनाको पहिचान गरी निगरानीमा राखेर स्वास्थ्य परीक्षण गरिएको जनाएको छ।
नेपालसँग सीमा जोडिएको पश्चिम बङ्गालमा निपा भाइरस देखिएको सार्वजनिक भएपछि नेपाल प्रवेश गर्ने यात्रुहरूलाई स्थलमार्ग र हवाई मार्ग दुवैबाट स्क्रीनिङ गर्न निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
डा. बुढाथोकी भन्छन्, ‘स्थलनाका र हवाईनाकामा रहेका हेल्थ डेस्कलाई आवतजावत गर्ने यात्रुहरूको निगरानी गर्न निर्देशन दिएका छौँ। प्रभावित क्षेत्रबाट आएका वा शङ्कास्पद लक्षण देखिएका व्यक्तिहरूलाई आवश्यक परे क्वारेन्टिनमा राख्ने, परामर्श दिने र स्वास्थ्य संस्थामा पठाउने व्यवस्था मिलाउन भनिसकेका छौँ।’
उनका अनुसार आवश्यक परे नमुना सङ्कलन गर्न र परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई पनि तयारी अवस्थामा राखिएको छ। हालसम्म नेपालमा कुनै शङ्कास्पद केस नदेखिएको उनको भनाइ छ।
निपा भाइरस के हो ?
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार भारतमा हाल देखिएको निपा भाइरस सन् २००१ यता त्यहाँ अभिलेख गरिएको सातौँ प्रकोप हो।
पश्चिम बङ्गाल नेपाल, भुटान र बाङ्ग्लादेशसँग अन्तर्राष्ट्रिय सीमा जोडिएको राज्य भए पनि निपा भाइरस हाल स्थानीय तहमै सीमित रहेको हुन सक्ने स्वास्थ्य अधिकारी तथा विज्ञहरूको अनुमान छ।
विज्ञहरूका अनुसार निपा भाइरस जनावरबाट मानिसमा सर्ने रोग हो। सङ्क्रमित चमेरा वा सुँगुरसँग सम्पर्क, कीटाणुयुक्त खानेकुरा तथा कहिलेकाहीँ सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा पनि भाइरस सर्न सक्छ। मानवबाट मानवमा सर्ने घटना दुर्लभ भए पनि असम्भव नभएको डब्ल्यूएचओले जनाएको छ।
सन् १९९८ यता बाङ्ग्लादेश, भारत, मलेशिया, फिलिपिन्स र सिङ्गापुरमा निपा भाइरस सङ्क्रमणका घटना देखिएका छन्। डब्ल्यूएचओले निपा भाइरसलाई घातक रोगको सूचीमा राखेको छ, जसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुन सक्ने बताइएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको चिकित्सकीय अनुसन्धान एकाइका प्रमुख डा. शेरबहादुर पुनले भारतमा निपा भाइरस देखिनु नेपालका लागि पनि गम्भीर चिन्ताको विषय भएको बताए।
हालसम्म निपा भाइरसको उपचारका लागि कुनै खोप वा निश्चित औषधि उपलब्ध छैन। इबोला, जीका र कोभिड–१९ जस्तै सम्भावित विश्वव्यापी महामारी निम्त्याउन सक्ने रोगहरूको सूचीमा यसलाई राखिएको छ।
‘भारतसँग हाम्रो खुला सीमा छ। मानिसबाट मानिसमा, चमेरा र सुँगुरबाट मानिसमा सर्ने भएकाले यो विषयलाई हल्का रूपमा लिन मिल्दैन,’ उनले भने।
उनका अनुसार निपा भाइरस सङ्क्रमणको प्रारम्भिक लक्षण रुघाखोकीसँग मिल्दोजुल्दो हुन्छ। त्यसपछि टाउको दुख्ने, बान्ता हुने र अन्ततः स्नायु प्रणालीमा असर पुगेर बिरामी अचेतसमेत हुन सक्ने खतरा रहन्छ।
डब्ल्यूएचओले निपा भाइरसको जोखिम कम गर्न चमेरोबाट मानवमा हुने सङ्क्रमण रोक्ने उपाय अपनाउन सुझाव दिएको छ। चमेरो बस्ने खजुरका बोटबाट निकालिने ताडी तथा चमेरोले टोकेका फलफूल सेवन नगर्नसमेत आग्रह गरिएको छ।
त्यसैगरी सङ्क्रमित व्यक्तिसँग असुरक्षित शारीरिक सम्पर्क नगर्न, बिरामीको हेरचाह गर्दा सरसफाइमा विशेष ध्यान दिन र आवश्यक सुरक्षा उपाय अपनाउन डब्ल्यूएचओले सुझाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले निपा सङ्क्रमण रोक्न नागरिकस्तरमै सचेतना अत्यावश्यक रहेको बताए।
‘सरकारले सीमामा निगरानी गर्छ, तर सर्वसाधारणले पनि चमेरोले जुठो हाल्न सक्ने फलफूल र सागसब्जीप्रति सतर्क रहनुपर्छ। मास्क प्रयोग गर्नुपर्छ र शङ्कास्पद लक्षण भएका व्यक्तिसँग नजिकिनु हुँदैन,’ उनले भने।



