काठमाडौं- सर्लाहीको मलङ्गवा नगरपालिका–३ मा दादुरा संक्रमण देखिएपछि त्यसको नियन्त्रणका लागि सरकारले आजबाट दादुराविरुद्धको खोप अभियान सुरु गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत राष्ट्रिय खोप कार्यक्रमले स्थानीय तह र विभिन्न साझेदार संस्थासँगको समन्वयमा घर–घरमा खोजपडताल, निगरानी, जनचेतना अभिवृद्धि तथा आपतकालीन दादुरा खोप अभियान सञ्चालन गर्न लागेको हो।
स्वास्थ्य सेवा विभागको बाल तथा खोप शाखाका अनुसार आजबाट मलङ्गवा नगरपालिका वडा नं ३ का साथै २, ४, ८, ९ र १० का ६ महिनादेखि १४ वर्षसम्मका बालबालिकालाई लक्षित गरी दादुराविरुद्धको खोप दिइनेछ।

त्यस क्षेत्रमा हालसम्म ७ जनामा दादुरा संक्रमण भएको प्रयोगशालाबाट पुष्टि भइसकेको छ भने २३ जना शंकास्पद बिरामी फेला परेका छन्। यद्यपि हालसम्म दादुराका कारण कसैको मृत्यु भने नभएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।
संक्रमण थप फैलिन नदिन स्वास्थ्य संयन्त्रलाई सतर्क बनाउँदै खोप अभियानलाई तीव्र पारिएको मन्त्रालयले जनाएको छ।







