काठमाडौँ- आज जनवरी महिनाको अन्तिम आइतवार अर्थात् विश्व कुष्ठरोग दिवस मनाइँदैछ। हरेक वर्ष जनवरीको अन्तिम आइतवार यो दिवस मनाउने गरिन्छ। यस वर्षको नारा ‘कुष्ठरोग निको हुन्छ, वास्तविक चुनौती भनेको रोगीलाई गरिने व्यवहार हो’ रहेको छ।
नेपालमा हरेक वर्ष करिब तीन हजार नयाँ कुष्ठरोगी फेला पर्ने गरेका छन्। नेपालले सन् २०१० मै कुष्ठरोग निर्मूल भएको घोषणा गरे पनि अहिले पनि नयाँ बिरामी भेटिने क्रम रोकिएको छैन। चालु आर्थिक वर्ष २०८१/८२ मा मात्रै २ हजार ४ सय ९ नयाँ कुष्ठरोगी पुष्टि भएका छन्।
कुष्ठरोगका प्रारम्भिक लक्षणमा शरीरको कुनै भाग छुँदा थाहा नहुने, फुस्रो वा हल्का रातो दाग देखिनेजस्ता समस्या देखिन्छन्। सरकारले कुष्ठरोगको उपचारका लागि आवश्यक औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ।
कुष्ठरोग सरुवा रोग भएकाले परिवार वा समुदायमा कसैमा देखिएमा अरूमा पनि सर्न सक्ने जोखिम रहन्छ। यद्यपि, यो रोग सर्न लामो समय लाग्ने चिकित्सकहरू बताउँछन्।
समयमै रोगको पहिचान र उपचार हुन नसकेमा कुष्ठरोगीमा अपाङ्गता देखिन सक्ने खतरा हुन्छ। रोगको अवस्था अनुसार बिरामीले छ महिना, एक वर्ष वा दुई वर्षसम्म नियमित रूपमा औषधि सेवन गर्नुपर्ने हुन्छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रोशन न्यौपानेले कुष्ठरोग पूर्ण रूपमा निर्मूल गर्न संक्रमितको समयमै पहिचान, प्रभावकारी उपचार र व्यापक जनचेतना अपरिहार्य रहेको बताउनुभएको छ।







