
बैतडी- बैतडीमा सुरक्षित गर्भपतन सेवा लिने महिलामध्ये २० वर्ष मुनिका किशोरीहरूको संख्या उल्लेख्य रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीको तथ्यांकले देखाएको छ। यसले किशोर–किशोरी उमेर समूहमा अनिच्छित गर्भधारणको समस्या बढ्दो क्रममा रहेको संकेत गरेको छ।
जिल्ला स्वास्थ्य कार्यालय बैतडी र जिल्लास्थित ४९ स्वास्थ्य संस्थाबाट संकलित पछिल्लो तथ्यांकअनुसार सुरक्षित गर्भपतन सेवा लिने कुल सेवाग्राहीमध्ये १६ देखि १९ वर्ष उमेर समूहका किशोरीहरूको हिस्सा करिब ३ प्रतिशत रहेको जिल्ला स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत खगेन्द्र सिंह कार्कीले जानकारी दिए।
गत आर्थिक वर्षमा बैतडीमा जम्मा १ हजार १ सय ५८ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन्। स्वास्थ्यकर्मीहरूका अनुसार कम उमेरमै विवाह, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानको अभाव, गर्भनिरोधक साधनको न्यून प्रयोग तथा सामाजिक लाज–संकोचका कारण किशोरीहरू अनिच्छित गर्भधारणको जोखिममा परिरहेका छन्।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार विद्यालय तथा समुदायस्तरमा यौन तथा प्रजनन स्वास्थ्य शिक्षा प्रभावकारी रूपमा पुग्न नसक्दा समस्या झनै जटिल बन्दै गएको छ। जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले किशोरीहरू सुरक्षित गर्भपतन सेवा लिन आउनु सकारात्मक पक्ष भए पनि यस्तो अवस्था नै नआउने गरी रोकथाममा ध्यान दिनुपर्ने बताए।
उनले सुरक्षित गर्भपतन सेवासँगै सचेतना अभिवृद्धि र रोकथाम कार्यक्रम सशक्त बनाउन आवश्यक रहेको उल्लेख गरे।
बैतडीका अधिकांश ग्रामीण क्षेत्रमा सुरक्षित गर्भपतन सेवाको विस्तारसँगै पर्याप्त सचेतना नहुँदा किशोरी स्वास्थ्यमा दीर्घकालीन असर पर्न सक्ने खतरा रहेको स्वास्थ्यकर्मीहरूले चेतावनी दिएका छन्। पञ्चेश्वर स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक अधिकृत सुरेश सार्कीका अनुसार अभिभावक, विद्यालय, स्थानीय तह र स्वास्थ्य संस्थाबीच समन्वय गर्दै किशोर–किशोरी लक्षित यौन शिक्षा, परामर्श सेवा तथा गर्भनिरोधक साधनको सहज पहुँच सुनिश्चित गर्न आवश्यक छ।
स्थानीय तहहरूले किशोरीमैत्री स्वास्थ्य सेवा विस्तार, विद्यालयमा जीवनोपयोगी शिक्षा र समुदायस्तरमा खुला छलफल कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। शहरको तुलनामा गाउँघरमा समस्या बढी जटिल हुने भएकाले यस्ता कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएमा बैतडीमा किशोरी गर्भधारण र गर्भपतनको बढ्दो दर न्यूनीकरण गर्न सकिने अपेक्षा गरिएको छ।




