संखुवासभा- संखुवासभाको मकालु गाउँपालिका–५ नुममा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट दुर्गम क्षेत्रका ८ सयभन्दा बढी स्थानीय बासिन्दाले प्रत्यक्ष स्वास्थ्य सेवा लिएका छन्।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका गरिब, अशक्त तथा लक्षित वर्गलाई लक्षित गर्दै आयोजना गरिएको शिविरमा कुल ८ सय ४१ जनाले स्वास्थ्य परीक्षण गराएका हुन्। आफ्नै गाउँघरमै विशेषज्ञ चिकित्सकबाट उपचार पाउँदा स्थानीय बासिन्दा उत्साहित र हर्षित देखिएका थिए।
हेल्पिङ ह्यान्ड्सका संस्थापक नारायण श्रेष्ठको विशेष पहलमा आयोजना गरिएको शिविरमा अमेरिकाबाट आएका १४ जना विशेषज्ञ चिकित्सकको टोलीले सेवा प्रदान गरेको थियो। बुधबार र बिहीबार सञ्चालन भएको शिविरमा जनरल फिजिसियन, हाडजोर्नी, नाक–कान–घाँटी, बालरोग, स्त्रीरोग तथा मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइएको थियो।
शिविरमा रोगको परीक्षणसँगै आँखा परीक्षण, ईसीजी सेवा, पाठेघरको मुखको क्यान्सर परीक्षण, निःशुल्क औषधि वितरण तथा रिडिङ्ग ग्लाससमेत प्रदान गरिएको थियो। दुर्गम गाउँमा नै यति व्यापक स्वास्थ्य सेवा उपलब्ध हुँदा स्थानीयका लागि शिविर जीवनोपयोगी बनेको सहभागीहरूको भनाइ छ।
शिविरको अवलोकन गर्दै मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दी छिरिङ शेर्पाले दुर्गम क्षेत्रमा आएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएकोप्रति खुसी व्यक्त गरे। उनले यस्तो अभियानले ग्रामीण भेगका नागरिकको स्वास्थ्य अवस्थामा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।







