काठमाडौं- टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी डा. अनुप बाँस्तोलालाई दिइएको छ ।
स्वास्थ्य मन्त्री डा. सुधा गौतम शर्माले निर्वाचन आचारसंहिता लागू हुनुभन्दा एक दिनअघि गत ४ माघमा मन्त्रीस्तरीय निर्णयमार्फत डा. बाँस्तोलालाई उक्त जिम्मेवारी दिने निर्णय गरेकी हुन् ।
यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले टेकु अस्पतालका तत्कालीन कार्यकारी निर्देशक डा. युवानिधि बसौलालाई गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा सरुवा गर्ने निर्णय गरेको थियो । त्यसपछि खाली भएको निर्देशक पदमा डा. बाँस्तोलालाई जिम्मेवारी दिइएको हो ।
डा. बाँस्तोला कोभिड–१९ महामारीको समयमा टेकु अस्पतालका निर्देशकका रूपमा कार्यरत थिए । त्यसपछि उनी स्वास्थ्य मन्त्रालय तथा विभागअन्तर्गतका विभिन्न निकायमा लामो समयसम्म कार्यरत रहँदै आएका थिए ।







